राजनीति

नेकपा सचिवालय बैठक, के निर्णय गर्यो ?

नेकपा सचिवालय बैठक, के निर्णय गर्यो ?

हरि न्यौपाने 
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा सोमवार बसेको सचिवालय बैठकले यही मंसिर २८ र २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने– ‘स्थायी कमिटि बैठक २९ गते ११ बजेदेखि दुई दिनसम्म सक्नेगरी डाकिएको छ ।’ बैठकले कर्णाली प्रदेश सचिवको राजीनामा अस्वीकृत गरेको छ ।

‘राजीनामा अस्वीकृत गर्दै काममा फर्कन निर्देशन दिने निर्णय भएको छ । ’ श्रेष्ठले जानकारी दिए । नेकपा सचिवालयको अर्को बैठक २७ गते अपरान्ह बस्ने भएकाे छ । 

कालापानी विवाद र सभामुखबारे भएन छलफल

बैठकमा कालापानी समेटेर भारतले गत महिना सार्वजनिक गरेको नक्सापछि उत्पन्न परिस्थितिबारे छलफलका लागि नेता माधवकुमार नेपाललाई पठाउने भनिएकोबारे भने छलफल भएन । ‘उहाँ जाने भन्नेबारे सल्लाह भएपनि आज छलफल भएन । ’ प्रवक्ता श्रेष्ठले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि नेपाल भारत भ्रमणमा जान सकेका छैनन् । ‘सरकारको विशेष दूतको रुपमा भारत भ्रमणमा जान अनुरोध गरेको भनेर कमरेड नेपालले भन्नुभएको थियो तर आज त्यसबारे छलफल भएन । ’ श्रेष्ठले भने ।

त्यस्तै सभामुख चयनबारे पनि आज छलफल नभएको उनले बताए । 

बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी थिएनन् । 

विशेष