राजनीति

नेकपा कार्यदलमा अझै भएन सहमति, यसकारण प्रतिवेदन तयार हुन ढिलाई

नेकपा कार्यदलमा अझै भएन सहमति, यसकारण प्रतिवेदन तयार हुन ढिलाई

काठमाडौं । चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन । नेकपाको सचिवालयको गएको सोमबारेको बैठकले कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो । कार्यदलले एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर कुन-कुन विषय सहमति भएको हो, कुन-कुनमा असहमति भएको हो र कहिलेसम्म टुङ्गोमा पुगिन्छ भन्नेमा कार्यदलका सदस्यहरु नै स्पष्ट हुन सकेका छैनन् ।

 

कार्यदलका सदस्य कतिपय काठमाडौं उपत्यकाबाहिर रहेको र कार्यसूचीमा मतभिन्नता अन्त्य हुन नसकेका कारण प्रतिवेदन तयार नभएको बुझिएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको भेटवार्तामा विवादित विषयलाई चाँडो सहमति गरेर देशव्यापी पार्टी एकताको सन्देश दिने समझदारी भएपनि कार्यदलमा त्यसको सकारात्मक प्रभाव परेको देखिएको छैन ।

 

पार्टीका महासचिव विष्णु पौडेलले आज बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्षहरुबीच भेनेजुएलाका विषयमा कुनै विवाद नरहेको स्पष्ट पारिसक्नुभएको छ । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि शनिबार शीर्ष नेताबीचको संयम र पार्टी एकताको ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पूरा गर्न आह्वान गरेका थिए ।

 

गएको जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा तीन महीनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएकामा यसबीचमा नेताहरुको व्यस्तता, शीर्ष नेताको छलफल हुँदै पार्टी सचिवालय, स्थायी कमिटी वा कार्यदललाई जिम्मेवारीका नाममा तल्ला कमिटीको एकता लम्बिएको छ । एकता चाँडो पूरा नहुँदा सरकार र पार्टीबीच एकरुपता कायम हुन नसकी नेता कार्यकर्ताहरु जिम्मेवारीविहीन भएको गुनासो सुनिएको छ ।

 

पार्टीको स्थायी कमिटीको गत पुस १२ को बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव पौडेल, स्थायी समिति सदस्य वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शङ्कर पोखरेल रहेको कार्यदललाई पुस मसान्तभित्र एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएको थियो । सो अवधि पार भएपछि गत सोमबारको सचिवालय बैठकले तत्काल प्रतिवेदन दिन निर्देश गरेको थियो । 

नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यदल

विशेष