अलोकप्रिय सल्लाहकारहरुको टोकरीले प्रधानमन्त्री असफलतातर्फ
काठमाडौं । सरकार सफल हुन प्रधानमन्त्रीको टिम चुस्त र लोकप्रिय हुनुपर्छ । वरिपरिका मान्छे बदनाम र स्खलित छन् भने प्रधानमन्त्री आफैं जति स्वच्छ र विकासप्रेमी भए पनि त्यसले अपेक्षति परिणाम ल्याउन सक्दैन । यही प्रकृतिको अवस्था अहिलेको सरकारसामु खडा भएको छ । प्रधानमन्त्रीमा समृद्धिको तीव्र चाहना र हुटहुटी देखिन्छ । बारम्बार ‘मसँग समय छैन, हामीले पनि नगरे कसैले पनि गर्दैन’ भन्ने खालको ओलीका अभिव्यक्तिले मुलुकको समृद्धिसँग जोडिएको उनको अठोट उजागर गर्छ ।
तर, विडम्बना नै मान्नुपर्छ, प्रधानमन्त्रीको टिम उनको लयसँग मिल्ने खालको छैन । कतिपय मन्त्रीहरुको विगतको छविबारे प्रशस्त जानकारी हुँदाहुँदै के कुराले त्यस्तैलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई बाध्य पार्यो भन्ने प्रश्न एकातिर छ भने अर्कातिर सल्लाहकारको टोकरी पनि अलोकप्रियहरुले भरिएको छ ।
प्रमुख सल्लाहकार विष्णु रिमालको भूमिकाका कारण पनि सरकार र प्रधानमन्त्री आलोचित हुँदै आएका छन् । रिमालले सरकारका दैनिक प्रशासनिक काममा अनावश्यक हस्तक्षेप गर्नेदेखि प्रधानमन्त्रीलाई मन्त्री र पार्टीका नेता कार्यक्रताको पहुँचभन्दा टाढा राखेको विषय पार्टी पंक्तिमा बारम्बार प्रश्न उठेको छ ।
अहिलेसम्म एकपटक पनि जनताबाट निर्वाचित नभएका आशीर्वादका कारण तर मार्दै आएका छन् । पार्टीको गत महाधिवेशनमा सचिवमा उठेर कार्यक्रताबाट अस्वीकृत भएका उनी रुखो स्वभाव र घमण्डबाट ग्रस्त नेताका रुपमा चिनिन्छन् । उनकै सल्लाहका कारण सामाजिक सुरक्षा कोषजस्तो कार्यक्रम पनि प्रधानमन्त्रीको फोटो पोलमा झुन्ड्याएका कारण ओझलमा परेको थियो ।
विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई बौद्धिक वर्ग र पार्टी प्रति दुवैमा अलोकप्रिय अर्का व्यक्ति हुन् । दुई पार्टीबीच कार्यगत एकता हुँदा पनि काठमाडौं क्षेत्र नम्बर ४ मा पराजित उनी जनताबाट कहिल्यै अनुमोदितपनि भएनन, सत्ताबाट पनि टाढिएका छैनन् । संविधानसभामा पनि नेतृत्वकै कृपाले मन्त्रिपरिषद्ले मनोनीत गर्ने कोटाबाट सभासद् भएका उनले पनि विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्रीलाई सल्लाह दिने हैसियत नै राख्दैनन् ।
यो समाचार बुधबार साप्ताहिकबाट लिइएको हो ।