सरकार भ्यू टावर र मूर्ति बनाउन अल्झिएको देख्दा दुःख लाग्यो : संयोजक भट्टराई

लमजुङ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन्।
पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, 'इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्यो। मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौँ।'
उनले हिजो लडाइँ र क्रान्तिमा अब्बल देखिएका नेताहरू विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाए। उनको प्रश्न थियो, 'कतै हाम्रा नेताहरूसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन?' आउँदा केही दशकहरू असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो।
'क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरू सत्तामा पुगेपछि विचलित हुने रहेछन्', उनले भने, 'आन्दोलनमा ज्यानै दिन तयार हुनेहरू सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन्। भ्रष्टाचार र ठूला काण्डहरूमा मुछिने रहेछन्।'
हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो। उनले भने, 'जनताको हस्तक्षेप र निगरानी बढाउने लोकतन्त्रको विकल्प छैन।' लोकतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने उनको तर्क थियो।
'असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो', उनले संविधान निर्माणका प्रसंगहरू स्मरण गर्दै भने, 'संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौँ। यस्तो अभ्यास संसारमा कतै पनि छैन।'
उनले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाए। 'स्थानीय जनप्रतिनिधिले आफ्नो पार्टी भन्नुभयोर चुप नबस्नुस्। संविधानले दिएको अधिकार लिन यहाँहरूले भूमिका खेल्नैपर्छ', उनले भने, 'जनतालाई कमजोर बनाउन खोज्ने नेताहरु लोकतन्त्रवादी हुन सक्दैनन्।'
जनता जति बलियो हुन्छन्, अधिकारसम्पन्न हुन्छन्, लोकतन्त्र त्यति नै बलियो हुने र राजनीति त्यति नै सफा हुने उनले बताए। 'एकदुई जना वा केही मुट्ठीभर मानिसहरु बलियो हुने व्यवस्थाको नाम जे दिए पनि त्यो निरंकुश नै हुन्छ', उनले भने।
भ्रष्टाचार र अलोकतन्त्र क्यान्सरको संज्ञा दिँदै उनले, 'अरुलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौं । मुलुकमा ठूला ठूला काण्डहरु घटिरहेका छन् । तर आफ्नो नेताले गरेको भन्नुभयोर तपाईंहरु चुप लाग्नुभयो भन्नुभयो यो देश बिगार्न नेताको मात्र होइन, तपाईंहरुको पनि भूमिका हुन्छ।'
विकास र समृद्धिका लागि हाम्रोजस्तो देशमा केही रणनीतिक कुराहरुलाई जोड दिनुपर्नेमा उनले जोड दिए। 'निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र औद्योगिकीकरण तर्फ उन्मुख हाम्रोजस्तो देशमा प्राथमिकता केलाई दिने भन्ने बुझ्न सकेनौं भन्नुभयो विकासको यात्रामा अलमलिन्छौं,' उनले भने, 'मैले अर्थमन्त्री र प्रधानमन्त्री भएको बेला बाटो, पानी, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चार र खानेपानीजस्ता पूर्वाधार निर्माणको काम राज्यले गर्नुपर्नेभन्दै राष्ट्रिय गौरवको योजना सुरु गरेको हुँ ।' उनेले राष्ट्रिय प्राथमिकता बिर्सिएर सरकार भ्यू टावर र मूर्ति बनाउनतिर अल्झिएकोमा दुःख लागेको बताए।
डा. बाबुराम भट्टराई