देश राजनीति

प्रधानमन्त्री भन्छन्, ‘युवाहरू अब बिनाज्याला बस्नुपर्दैन’ (भिडियोसहित)

प्रधानमन्त्री भन्छन्, ‘युवाहरू अब बिनाज्याला बस्नुपर्दैन’ (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली युवाशक्ति अब बिनाज्याला बस्नुनपर्ने बताएका छन् । बेरोजगार युवालाई न्युनतम रोजगारीको सुनिश्चिततासहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बुधबार घोषणा गर्दै उनले बेरोजगार युवाको समस्यामाथि सम्बोधन गरेको बताए । यो कार्यक्रमलाई उनले सरकारको अर्को महत्वपूर्ण उपलब्धिको रुपमा ब्याख्या गरेका छन् । ‘सरकारले दिनैपिच्छे नयाँ नयाँ कुरा ल्याएको छ। सरकार अगाडि बढेको बढ्यै छ।,’ उनले भने, ‘यो ऐतिहासिक दूरगामी महत्व राख्ने कदम हो। यो कार्यक्रम नेपालको लागि नयाँ अभ्यासको सुरुआत पनि हो।’

उनले बहुमतको सरकार नागरिकको हितको लागि स्पष्ट नीतिका साथ अगाडि बढ्दै गरेको बताए। ‘हिजोभन्दा आज हामी फेरि एक कदम अगाडि बढेको छौं। आजभन्दा भोलि फेरि एक कदम अगाडि बढ्छौं। यसरी हरेक दिन एक कदम अगाडि बढ्दै जानेछौं,’ उनले भने, ‘यो सरकार फागुन ३ गते एक वर्ष पुग्दैछ। यसभन्दा अगाडि सरकारले एक वर्ष पुग्दा पनि अचम्म मान्नुपर्दथ्यो। यो सरकार ५ वर्षसम्म आरामसँग जान्छ।’ उनले रोजगारीको अभावलाई व्यवस्थित ढंगले समाधान गर्दै लैजाने बताए। ‘कुन श्रमिक कुन श्रममा, कुन प्रकारको आवश्यकता पर्‍यो। त्यसलाई कसरी आपूर्ति गर्ने भन्ने विषयलाई व्यवस्थित बनाएका छौं,’ उनले भने,‘तथ्यतथ्याङ्क उपयुक्त ढंगले राखिनेछ।’

 

प्रधानमन्त्री ओलीले फागुन एक गतेलाई रोजगारी दिवसको रुपमा मनाउने समेत बताए। ‘रोजगारी भनेको काम पाउनु मात्रै होइन। आविस्कार, नयाँ प्रयोगको सिलसिला। निर्यात गर्ने र आयात प्रतिस्थापन गर्नु पनि हो। आत्मनिर्भरता र आत्मविश्वास हो। श्रमको उत्पादकत्व वृद्धि हो। हामी यसै दिशातिर जाँदैछौं,’ उनले भने। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

प्रधानमन्त्री केपी ओली युवा रोजगारी

विशेष