देश राजनीति

पार्टी एकता भन्नै नसकिने गरी ढिला भयोः प्रवक्ता श्रेष्ठ

पार्टी एकता भन्नै नसकिने गरी ढिला भयोः प्रवक्ता श्रेष्ठ

सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्लो तहसम्म पार्टी एकता प्रक्रिया भन्नै नसकिने गरी ढिला भएको बताएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन्।

 

‘तल्लो तहसम्म पार्टी एकता प्रकृया भन्ने नसकिने गरी ढिला भएको छ,’ श्रेष्ठले भने, ‘पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेको थियो, तैपनि ३ महिना चाहिँ समय तोकौं भनेर राखियो, तर तीनगुणा बढी समय बितिसक्यो।’ स्थायी कमिटीले गठन गरेको एकता कार्यदलले प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै अब चाँडै नै तल्लो तहसम्मको एकता प्रक्रिया टुंग्याउने गरी छलफल अगाडि बढिसकेको श्रेष्ठले बताए।

 

लोकतन्त्रको नारा उचाल्दै प्रतिपक्ष नेपाली कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरिरहेको समेत सत्ताधारी दलका नेता श्रेष्ठले आरोप लगाए। ‘लोकतन्त्रको कुरा गर्ने तर जनताले चुनेको सरकार मैले भने जसरी मात्र चल्नुपर्छ भन्ने प्रतिपक्षको मान्यता कसरी लोकतान्त्रिक चरित्र हुन्छ ?’ श्रेष्ठले प्रतिप्रश्न गरे, ‘लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने प्रतिपक्ष पार्टीले जनताले विश्वास गरेर बनेको सरकारलाई ५ वर्ष त काम गर्न दिनुपर्यो नि।’

 

भेनुजुयला प्रकरणमा सरकार र पार्टीको एकमत विचार रहेको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेको श्रेष्ठले कुनै पनि सार्वभौम देशप्रति बाह्य हस्तक्षेप सह्य नहुने दाबी गरे। दुई अध्यक्षले जेसुकै बोले पनि भेनेजुयलाको विषयमा पार्टी र सरकारको धारणा एकमत रहेको श्रेष्ठको दाबी थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी

विशेष