देश राजनीति

भारतका नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैनः प्रधानमन्त्री

भारतका नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताए ।

 

नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उनले औँल्याए । उनका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । प्रधानमन्त्री ओलीले भने, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।’

 

अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए । उनले भने, ‘अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।’

 

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उनले जानकारी दिए ।  

केपी शर्मा ओली भारत भूपरिवेष्ठित

विशेष