देश राजनीति

पार्टी एकताः अलमलमा ओली, प्रचण्ड र नेपालबीच भागबन्डा मिलेन

पार्टी एकताः अलमलमा ओली, प्रचण्ड र नेपालबीच भागबन्डा मिलेन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकता अलमलमा परेको हो । तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्र पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।


हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन् । घोषणा भइसकेका प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

 

नेकपाका एक नेताका अनुसार मुख्य समस्या तीन नेतामा नै रहेका कारण एकता टुंगो लाग्न नसकेको हो । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच भागबन्डा मिल्न नसकेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे ।  तर नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकता छिटै टुंगो लाग्ने दाबी गरे । आइतबार सचिवालय बैठक बोलाइएको र सो बैठकमा पछिल्लो समय गठन भएको कार्यदलको प्रतिवेदन प्रस्तुत गर्दै एकता विषयमा छलफल हुने उनले बताए ।


 
पार्टी एकताको विषयलाई लिएर आफूहरू गम्भीर भएको बताउँदै उनले एकता छिट्टै टुंगो लगाउने बताए । पार्टी सचिवालयले एकतालाई टुंगो लगाएर छिट्टै नै देशैभरि अभियान सञ्चालन गर्ने तयारी गरेको र स्थायी कमिटीले पनि सो विषयमा छलफल गरिसकेको उनले बताए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 
 

नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली पुष्पकमल दाहाल माधवकुमार नेपाल

विशेष