डा. केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा
कास्की : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गरेका छन् ।
प्रेस युनियन कास्कीद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताए । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा. केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गरे ।
विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उनले राजधानी काठमाडाैँमा अहिले मेडिकल कलेज आवश्यक नरहेको बताए । डा केसीका माग वर्तमान सरकारले सम्बोधन नगरे पनि बहुमत आउँदाको अवस्थामा ती मागलाई सम्बोधन गर्न कांग्रेस तयार रहेको उनले बताए ।
अनशन बसेको २४ दिन पुग्दै गर्दा डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको बताउँदै प्रवक्ता शर्माले डा केसीको जीवनरक्षा नगरे आन्दोलन चर्काउने चेतावनी दिए । सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उनले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा कांग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिए ।
प्रवक्ता विश्वप्रकाश शर्मा नेपाली काँग्रेस प्रा. डा. गोविन्द केसी