देश राजनीति

‘तीन महिनाभित्र तातोपानी नाका खुल्छ’ 

‘तीन महिनाभित्र तातोपानी नाका खुल्छ’ 

सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तातोपानी नाका तीन महिनामा खुल्ने बताएका छन् । सीमावर्ती तातोपानीको अवलोकन भ्रमणमा पुगेका महासेठले भौतिक संरचना तत्कालै मर्मतसम्भार सकेर नाका सञ्चालनमा ल्याउन माथिल्लो चीनको केन्द्रीय सरकारसँग आन्तरिक बलियो सम्झौता भइसकेको दाबी गरे । ‘कुनै हालतमा आगामी ‘मे’ मा नाका खुल्नेछ, कुनै अवरोध आएर यो काम रोकिनेवाला छैन,’ सिन्धुपाल्चोकबाट चीन जोड्ने सीमाक्षेत्रमा पुगेर महासेठले भने ।

 

चीन र नेपालबीच भौतिक संरचना कति बनाउने भन्ने बारेमा पूरा ‘एग्रिमेन्ट’ नै गरिएको उनको कथन थियो । कति नेपाल र चीन पक्षले भौतिक संरचना पुनर्निर्माण गर्ने भन्नेबारेमा व्यापक छलफल गरेर निचोडमा पुगिसकेको उनको भनाइ छ । ‘साधी खोल्सा, लार्चा जोड्ने पक्की मोटरेबल पुलका लागि ‘क्याबिनेट’मा उठाउनेछु,’ उनले भने । प्रदेश–३ का उद्योग तथा वनमन्त्री अरुण नेपाल, प्रतिनिधिसभा १ का सांसद अग्नि सापकोटा लगायतका जनप्रतिनिधिले बाह्रबिसेदेखि सीमासम्मको अवस्था निरीक्षण गर्दै नाका खुल्नुपर्ने आवाज उठाए ।

 

बजारबाट तातोपानी जोड्ने साधी खोल्सा, सुक्खा बन्दरगाह, लार्चास्थित बेलिब्रिज हुँदै सीमासम्म क्रमशः अवलोकन गरे । भूकम्प, भोटेकोसी बाढी, बर्खे पहिरोले क्षतिग्रस्त बनेको कोदारी राजमार्ग र सुक्खा बन्दरगाहको काम गरिरहेको चिनियाँ कम्पनीका प्रतिनिधिसँग भेटेर समूहले यथार्थबारे बुझे । गएको दसैंअघि नाकासम्म निरीक्षणमा आएको महासेठसहितको टोलीले दसैंलगत्तै भौतिक पूर्वाधार निर्माण सकेर आगामी ‘मे’ मा नाका खुलाउने निक्र्यौल निकालेको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

मन्त्री रघुवीर महासेठ

विशेष