राजनीति

शान्ति सुरक्षा कायम गर्न सरकार सफलः गृहमन्त्री 

शान्ति सुरक्षा कायम गर्न सरकार सफलः गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।’ गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन सरकार दृढ रहेको दोहोर्‍याए ।

 

उनले भने, ‘निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकृतलाई समेत कारवाही गरिसकिएको छ ।’ गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिने बताए । तस्करले फेरि पनि नयाँ बाटो प्रयोग गरेर छिटफुट सुनको तस्करी भइरहेको जानकारी आएको बताउँदै ती रुटलाई पनि ध्वस्त पार्न सरकार लागिपरेको स्पष्ट पारे । पूर्वराजदूत केशव झाको हत्याको घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले सो घटनासँग सम्बन्धित विषयलाई अनुसन्धान गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए ।

 

मुलुकमा जुनकुनै प्रकारको एकाधिकारको अन्त्य भइसकेको बताउँदै उनले भने, “नयाँ कानून निर्माण गरेर भएपनि सिण्डिकेटको अवस्था अन्त्य गरेरै छाड्छौँ ।” उनले सर्वसाधारणलाई सिंहदरबारमा सहज प्रवेशका लागि सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने गरी योजना निर्माण गरिरहेको उल्लेख गरे । गृहमन्त्रीले विभिन्न राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका व्यक्तिलाई शहीद घोषणाको प्रक्रिया अघि बढाइएको र केही समयअघि करीब तीन हजार सेना, प्रहरीलाई शहीद घोषणा गरिएको बताए । 

रामबहादुर थापा ‘बादल’ शान्ति सुरक्षा

विशेष