प्रचण्ड भन्छन्, ‘मुलुकको परिस्थिति देखेर कहिलेकाहीँ खेती गर्न मन लाग्छ’
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको बताएका छन् । सुनको टुक्राजस्तो खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जान तँछाडमछाड गर्दा आफूलाई दिक्क लाग्ने गरेको उनले बताए । ‘युवाहरु विदेश जान तँछाड र मछाड गरेका छन्। गाउँमै बसेर समूहमा खेती गर्ने हो भने आफूलाई मात्रै होइन अरुलाई पनि रोजगारी सिर्जना गर्न सकिन्छ’ भक्तपुरको गठ्ठाघरमा भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दै दाहालले भने, ‘कहिलेकाहीं त परिस्थिति देखेर बडो दिक्क लाग्छ। यो सबै छाडेर आफैं खेती गर्न हिँडौजस्तो पनि लाग्छ।’
युवाहरुमा देशभित्रै केही गरौं भन्ने भावनाभन्दा पनि विदेश गएर पैसा कमाउने भन्नेमा ध्यानकेन्द्रित भएको उनको आरोप छ। ‘जमिन आफ्नै छ, श्रम शक्ति पनि छ। त्यसमा मेहनत गरेका छैनन्। खाडी जान मेहनत गरिरहेका छौं’ उनले भने, आफ्नै जमिनमा टेकेर त्यहाँ विविधा ल्याउन जाँगर गर्ने हो भने देश आत्मनिर्भर हुन्छ। त्यसैले आफ्नो जमिन र सिपको सदुपयोग गरेर देशभित्रै लाग्नुस्।’
भक्तपुर तरकारी तथा फलफूल तरकारी बजार खुलेर उपभोक्ताले सस्तो र ताजा तरकारी पनि पाउने उनले बताए। बजार सानो भए पनि यसको उद्देश्यले कृषक, उपभोक्ता र युवाहरुलाई आकर्षित गर्ने दाहालले बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।