देश राजनीति

वर्तमान अवस्थामा कसैसँग समृद्धिको भोक छैनः डा. भट्टराई

वर्तमान अवस्थामा कसैसँग समृद्धिको भोक छैनः डा. भट्टराई

अछाम । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एक्लैले देशमा आर्थिक समृद्धि नहुने बताएका छन् । अछाम सदरमुकाम मंगलसेनमा नयाँ शक्ति नेपालद्धारा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सबै शक्ति एकजुट भएमात्र समृद्धि प्राप्ति हुनेमा जोड दिए । वर्तमान अवस्थाले मात्र देशमा समृद्धि आउन नसक्ने भन्दै यसलाई नयाँ सोच र विचारका साथ तीव्र गतिमा लैजानुपर्ने उनले बताए । ‘वास्तविक समृद्धि ल्याउन चाहेको भने गुडानबाट उडानमा लैजानु पर्ने हुन्छ । अहिलेको गतिले सम्भावना छैन ।’ भट्टराईले भने । वर्तमान अवस्थामा कसैसँग समृद्धिको भोक नभएको भन्दै डा. भट्टराइले यसले आधुनिक विकासमा पुग्न नसकिने भनाइ राखे । 

 


पूर्वप्रधामन्त्रीसमेत रहेका डा. भट्टराईले दक्षिणमा मात्र सडक सञ्जाल भएकोले परनिर्भर भएको भन्दै पहाड र तराइमा पूर्व–पश्चिम सडकसंगै विभिन्न क्षेत्रमा उत्तर–दक्षिण नाका र हुलाकी सडकले समृद्धिमा सहयोग हुने समेत विचार राखे । वर्तमान सरकार र नेकपाप्रति खासै टिप्पणी नगरेका डा. भट्टराईले अहिलेको राजनीतिक यात्राले देशको विकास हुन नसक्ने बताए । उनले नेकपा र समाजवाद र काँग्रेसको पुँजीबादी मोडल नभएर वैज्ञानिक मानवतावादी विचारले मात्र देशमा आमुल परिवर्तन सम्भव भएकोमा जोड दिए । दुई तिहाइ वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै जनातको मनोभावना बुझेर पुर्नजागरण ल्याउन आफु हिँडेको भनाइ डा. भट्टराइको छ ।

 

उनले गणतन्त्र आफ्नो एजेण्डा भएको भन्दै तत्कालिन समयमा प्रचण्ड त्यता जान नै नचाहेको समेत आरोप लगाए । डा. भट्टराइले इश्यु–इश्युमा विभिन्न पक्षसंग सहकार्य हुन सक्ने भन्दै अहिले कुनैसंग कुराकानीसमेत नभएको बताए । जनसंवाद यात्रामा पत्नी तथा नयाँ शक्तिकी नेतृ हिसिला यमी सहितका नेताहरु सहित पूर्वप्रधानमन्त्री भट्टराई, पाँचथरबाट मध्यपहाडी राजमार्ग हुँदै अछाम सदरमुकाम मंगलसेनको सभामा सम्बोधन गरेका थिए । भट्टराईको यात्रा बैतडीको झुलाघाट पुगेर टुंगिने नयाँ शक्ति नेपालका अछाम संयोजक पवित्रा तिमिल्सेनाले जानकारी दिइन् ।

डा. बाबुराम भट्टराई नयाँ शक्ति नेपाल समृद्धि

विशेष