देश राजनीति

बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छः अध्यक्ष प्रचण्ड

बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छः अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मंगलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष प्रचण्डले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताए ।

 


‘म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो’ उनले भने, ‘केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।’ आयोजनाको डुबान क्षेत्रमा पर्ने र पूर्णरूपमा विस्थापित हुने प्रभावित क्षेत्रका जनतालाई मुअब्जा वितरणको काम ठिक ढङ्गले अघि बढेको भन्दै मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको पनि छिट्ट्रै मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको अध्यक्ष प्रचण्डले बताए । ‘यो आयोजना खाली विद्युत् निकाल्ने आयोजना मात्र होइन’ प्र्चण्डले भने, ‘यसले नेपालको विकासका लागि दीर्घकालीन महत्व राख्छ ।’

 

आयोजना निर्माण गर्दा जनतालाई मर्का नपर्ने गरी सरकारले मुअब्जा वितरणको कामलाई अघि बढाएको उनले बताए । अध्यक्ष प्रचण्डले आयोजना गोरखा र धादिङ मात्र नभएर सम्पूर्ण नेपाली जनताको लागि महत्वपूर्ण आयोजना भएको उल्लेख गरे । बूढीगण्डकी जलविद्युत् आयोजनाले देशलाई आर्थिक समृद्धितर्फ लैजान योगदान पुर्याउने भएकाले यस्ता खालका राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथामिकतामा राखेर काम अघि बढाउने उनको भनाइ थियो ।

 

उनले आफूले विगतको १० वर्ष भूमिगत आन्दोलनमा बिताएको र त्यसपछिको १० वर्ष शान्ति र संविधानका लागि बिताएको भन्दै अबको १० वर्ष देशको आर्थिक समृद्धिका लागि बिताउने बताए । सरकार गठन भएको एक वर्षको अवधिमा जनताको अपेक्षाअनुसार काम हुन नसकेकाले अब नयाँ नीति तथा कार्यक्रममार्फत निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई पूरा गरेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।  

बूढीगण्डकी जलविद्युत् आयोजना पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी गोरखा

विशेष