मुख्य समाचार राजनीति

संसदमा गगनको प्रश्न–‘प्रधानमन्त्रीको ढलेको बिश्वास र इमान कसले उठाउने ?’ 

संसदमा गगनको प्रश्न–‘प्रधानमन्त्रीको ढलेको बिश्वास र इमान कसले उठाउने ?’ 


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद गगन थापाले सरकारलाई प्रतिपक्ष कहाँ छ भनेर देखादिने चेतावनी दिएका छन् ।

 


आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले एउटा जोगी डाक्टरलाई देखाइदिएकोमा सरकारलाई व्यङ्ग्यात्मक बधाई दिंदै अब प्रतिपक्षीले सरकारलाई देखाउने चेतावनी दिएका हुन । 


‘एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुई तिहाईको सरकारसँग, यस्तो बलियो सरकारसँग,’ उनले भने, ‘सरकारले देखाइदियो, सरकारलाई बधाई छ ।’

 

उनले अगाडी भने, ‘सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने माननीय सांसदहरु खुशी नहुने कुरै भएन ।’ तर खुशी हुनेहरुको लाममा अरु पनि थुप्रै उभिएको जिकिर उनले गरे ।

 


शिक्षा, स्वास्थ्यमा राज्यको भूमिका बढाऔं भन्दा पनि दुई तिहाई देख्न नपाइएको उनले बताए । ‘पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन मन्त्रिपरिषदले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाऔं भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानुन बनाउनमात्र बाँकी छ, कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाइएन,’ उनले भने, ‘कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाइएता पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो, यो सरकारलाई बधाइ छ, सरकार बनाउने पार्टीलाई पनि बधाई छ ।’

 

 

दुई तिहाईले आमरण अनशन बसेका डा. गोविन्द केसीलाई उठाइदिएको चर्चा गर्दै उनले प्रश्न गरे, ‘सुतेको डाक्टर उठे तर प्रश्न यहाँ डाक्टरको मात्र होइन, यहाँ त प्रधानमन्त्रीको विश्वास सुत्यो, प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो अब, ढल्यो, त्यो ढलेको विश्वासलाई कसले उठाइदिने ?’

 

 

उनले सरकारसँग अब हिजोको सम्बन्ध प्रमुख प्रतिपक्षी दलको नरहने प्रष्ट पारे । ‘हामीसँग यो सदनमा जस्तो व्यवहार गरिएको छ, एउटा दुईटा घटनाबाट, एउटा दुईटा दिनबाट हामी बिर्सन सक्दैनौं,’ उनले भने, ‘हामी सम्झिरहने छौं, हामी मनमा पनि लिइरहने छौं र त्यो अनुरुपको व्यवहार पनि गरिरहने छौं ।’
 

विशेष