राजनीति

प्रदेश १ को राजधानी र नाम टुंगो लगाइँदै

प्रदेश १ को राजधानी र नाम टुंगो लगाइँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् । 

 

आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरूको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामकरण टुंग्याउन लाग्ने जानकारी दिए। प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै उनले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक समितिमा र चार संसद्मा दर्ता गरिएका जानकारी दिए । 

 

उनले अत्यावश्यक थप १० विधेयक संसद्मा ल्याउने तयारी भइरहेकाले तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची पनि रहेको बताए । मुख्यमन्त्री राईले प्रदेश १ लाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई उच्च प्राथमिकता राखिएको जानकारी गराए । 

 

स्वच्छ वातावरण र हरियाली प्रदेश बनाउन प्रदेश सरकारले यही माघ २६ गते हरियाली अभियान सञ्चालन गर्ने जानकारी दिँदै उनले भौगोलिक अवस्था, जनसंख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसाबले प्रदेशको राजधानी र नामाकरण हुने धारणा राखे ।

प्रदेश १ शेरधन राई

विशेष