राजनीति

सरकारविरुद्ध देशभर कांग्रेसको प्रदर्शन, जनता ढाँट्न नछोडे कुनै पनि बेला सरकार ढाल्ने

सरकारविरुद्ध देशभर कांग्रेसको प्रदर्शन, जनता ढाँट्न नछोडे कुनै पनि बेला सरकार ढाल्ने

काठमाडौं । सरकारविरुद्ध आन्दोलन छेडेको प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

 

कांग्रेसले काठमाडौंसहित देशका ७७ वटै जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गरेको हो । वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्या र सरकारका क्रियाकलापविरुद्ध कांग्रेसले प्रदर्शन गरेको हो ।

 

विरोध प्रदर्शन गर्न कांग्रेसका केन्द्रीय नेताहरु नै विभिन्न जिल्लामा खटिएका थिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा खटिएका थिए भने महामन्त्री डा. सशांक कोइराला नवलपरासी गएका थिए । यस्तै, गगन थापा पोखरा र शेखर कोइराला विराटनगर पुगेका थिए । 

 

काठमाडौंमा रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरिएको थियो । विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले निर्वाह गरिरहेको जिम्मेवार प्रतिपक्षको भूमिकालाई कमजोरी नठान्न चेतावनी दिए ।

 

जनविरोधी क्रियाकलाप जारी राखे दुई तिहाईको दम्भ बोकेको सरकारलाई जनताले जुनसुकै समयमा पनि ठेगान लगाउने उनको भनाइ थियो । विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कम्युनिष्टहरुलाई मुसाको संज्ञा दिँदै जनता ढाँट्न नछोडे कुनै पनि बेला सरकार ढल्ने बताए ।

 

यस्तै पूर्व सभामुख तारानाथ रानाभाटले सरकारलाई ठेगान नलगाएसम्म सडक संघर्ष जारी राख्न आग्रह गरे ।
 

नेपाली काँग्रेस विरोध प्रदर्शन

विशेष