गृहमन्त्रीले भने, सरकार असफल बनाउन पराजित र विदेशी शक्ति सक्रिय
सर्लाही : गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताएका छन्। दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा मंगलबार आयोजित सभामा उनले पराजित शक्तिका साथै देश टुक्र्याउने शक्ति सक्रिय रहेको बताएका हुन्।
'सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ', उनले भने। उनले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्ने बताए। 'विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ', उनले भने, 'हामी नयाँ युगमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर संघीय लोकतन्त्रमा प्रवेश गरेका छौँ। सरकारको काम भन्नेको जनताको सेवा हो।'
मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भने, 'विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ।'
महोत्सव मंगलबार माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवं महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताए।
ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उनले बताए। मंगलबार पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो।
रामबहादुर थापा गृहमन्त्री