राजनीति

पुँजीवाद र साम्यवादले सिंग फुकालिसके, नयाँ विचार चाहिन्छः संयोजक भट्टराई

पुँजीवाद र साम्यवादले सिंग फुकालिसके, नयाँ विचार चाहिन्छः संयोजक भट्टराई

रामेछाप । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादले जुधेर सिंग फुकालिसकेकोले संसारलाई नयाँ विचार चाहिएको बताएका छन्। पार्टीले सञ्चालन गरेको एकमहिने जनसंवाद यात्राको क्रममा मंगलबार रामेछापको मन्थलीमा जारी जनसंवादमा बोल्दै उनले अहिले पुँजीवाद र साम्यवाद हिजोको अवस्थामा नरहेको र यसले आफ्नो स्वरुप र अवस्था गुमाइसकेको बताएका हुन्।

 

'हिजोका पुँजीवाद र साम्यवाद दुबैले एकअर्कासँग जुधेर सिंग फुकालिसकेको छ,' उनले भने, 'मार्क्स फर्केर आए भने पनि उनले यही कुरा भन्नुहुन्छ।' हिजोको अवस्था र आजको अवस्था उही नरहेको उनको तर्क थियो।

 

'अहिले न पुँजीवाद पुँजीवादजस्तो छ न साम्यवाद साम्यवाद जस्तो। न्यूटनीय साइन्सलाई मार्क्सले पढ्दा आइन्स्टाइन केवल ४ वर्षका थिए। अहिले त स्टेफन हकिङ र म्याक्स प्लांकको विज्ञानसम्म आइपुगेको छ,' उनले भने, 'संसार धेरै अघि बढिसक्यो। हिजोको सूत्र घोकेर आजको राजनीति हुँदैन।'

 

उनले मार्क्सको पालामा उपलब्ध सम्पत्तिको स्वरुपहरूमा नै बदलाव आइसकेको र अहिले मालिक र मजदुर छुट्याउन नै मुस्किल रहेको तर्क राखे। 'केही मान्छे मात्रै शिक्षित रहेको बेला पार्टी कार्यकर्ता जनताको ज्ञान लिएर जाने तत्कालीन सन्दर्भमा भेनगार्डको अवधारणा विकास गरिएको थियो,' उनले भने, 'अहिले साक्षरता दर कहाँ पुगिसक्यो, प्रत्येक मजदूरको खल्तीमा स्मार्ट फोन छ।' उनले पुरानो ढाँचाको पार्टीले २१औं शताब्दीको चेतनालाई नेतृत्व गर्ने लोकतान्त्रिक अभ्यासको सुनिश्चित गर्न नसक्ने बताए।

 

पुरानै पार्टीमा टाँसिएर बस्दा नेपालीको दिमागमा झ्याउ र लेउ लागेको भन्दै उनले हिजोका सूत्र घोकेर आज समृद्धि र मानव सभ्यताको नेतृत्व गर्न नसकिने बताए। 'कतिपयले मलाई विचारमा चिप्लियो भन्नुहुन्छ। म मात्रै होइन, सबै चिप्लनुपर्छ', उनले भने, 'पार्टीलाई विश्वासको रूपमा लिएर जातिवादीजस्तै मानसिकता बोकेर अगाडि बढ्न सकिँदैन।' उनले मार्क्स र लेनिन, बिपी आदिले कुन प्रसंगमा बोलेका थिए भनेर याद नगरी सूत्रजस्तै घोकेर मात्रै समृद्धिको नेतृत्व गर्न नसकिने बताए।

 

संयोजक डा. भट्टराईले नेपाली क्रान्तिहरू विजयभन्दा पनि सम्झौतामा टुंगिनाले नेपाली समाज पछाडि परेको धारणा राखे। समृद्धिका लागि सबै शक्ति केन्द्रित गरेर एउटा निर्णायक धक्का दिनुपर्नेमा उनको जोड थियो।

 

भ्रष्टाचारको दुस्चक्र तोडौं

'जुन सरकार आए पनि एक दर्जन ठेकेदार र विचौलियाहरु शीर्ष नेताहरुको घर चहार्छन् र उनीहरुलाई चास्नी चटाउँछन्', पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, 'मैले त भोगेरै आएको छु। यो दुस्चक्रबाट निस्कन नसकेसम्म देश विकास हुँदैन। यसबाटै राजनीति नै प्रदूषित भइसकेको छ। कमिशन, चुनाव र सत्ताको दुस्चक्रबाट पार्टी र देशलाई निकाल्नुको विकल्प छैन।'

 

उनले पहिला पार्टी कार्यकर्ता र जनताले छानेपछि मात्रै चुनावमा उम्मेदवार हुनुपर्ने अभ्यास अगाडि बढाउनुपर्ने धारणा राखे। 'पार्टीका नेताहरूको खल्तीबाट उम्मेदवार बनाउनु हुँदैन', उनले भने, 'पार्टी र पार्टी सञ्चालनको ढाँचा पनि फेर्नुपर्छ।' सुब्बा र खरदारलाई भ्रष्टाचारी देखाएर ठूला माछा जोगाउने प्रवृत्तिले देशलाई भित्रभित्रै खोक्रो बनाइरहेको उनको तर्क थियो।

 

यसअघि जनसंवादको क्रममा मंगलबार नै सिन्धुलीको ग्लालटारमा आयोजित अन्तरक्रियामा बोल्दै संयोजक भट्टराईले तीव्र गतिको आर्थिक परिवर्तनबाट नै गरीबी र बेरोजगारी अन्त्य हुने बताएका थिए।  'हामीले अहिले नयाँ राजनीतिक अभियान अभियान सुरु गरेका छौँ। नेपालमा व्याप्त गरिबी, बेरोजगारी र भ्रष्टाचारका विरुद्ध संघर्ष गरेर प्राप्त लोकतन्त्रलाई अझ उन्नत बनाउने र जनताको घरदैलोसम्म पुर्‍याउँदै देशलाई हाम्रै जीवनकालमा समृद्ध बनाउनका लागि नयाँ विचार चाहिन्छ,' उनले भने।

 

उनले क्रान्ति एउटा निरन्तर प्रक्रिया भएकोले यसको रूप र लक्ष्य फेरिए पनि क्रान्तिको अन्त्य नहुने बताए। एकमहिने जनसंवाद यात्रामा रहेको नयाँ शक्ति पार्टी, नेपालको टीम आज ८औं दिन प्रदेश नं ३ अन्तर्गत सिन्धुलीको कार्यक्रम सकेर रामेछाप पुगेको छ।

नयाँ शक्ति नेपाल डा. बाबुराम भट्टराई

विशेष