निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा पो छन् कि?
काठमाडौं । ‘निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा पो छन् कि रु ’ कांग्रेस सांसद डिला संग्रौलाले ‘आक्रोशपूर्ण व्यंग्यात्मक’ प्रश्न राख्दा गृहमन्त्री रामबहादुर थापाले अप्ठ्यारो महसुस गरेका देखिन्थे।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको झन्डै ६ महिना पुग्दा पनि हत्यारा कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला बुधबार गृहमन्त्री थापालाई सांसदले यही प्रश्न तेस्र्याए। मन्त्रीहरूसँग सांसदका प्रश्नोत्तर कार्यक्रमअन्तर्गत थापाले निर्मला घटनाबारे ‘रेडिमेड’ जवाफ फर्काए, ‘अनुसन्धान जारी छ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वयं गृहमन्त्री थापाले निर्मलाका हत्यारा पत्ता लाग्ने भनी ‘दिन, बार तोके’ पनि अझै किन पत्ता लगाउन नसकेको भन्दै सांसदले आक्रोश पोखेका थिए।
गृहमन्त्री थापाले भने ९६ प्रतिशत अपराधका घटनामा सरकार सफल भएको दाबी गरे। ४ प्रतिशत घटनाका अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ छ। सांसद संग्रौलाले निर्मलाका हत्यारा ‘बालुवाटार कि सिंहदरबारका कुर्सी’मा भनी सोधेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले भने, ‘बालुवाटार र सिंहदरबार जतासुकै भए पनि अपराधीलाई कठघरामा ल्याइनेछ।’
कतिपय घटनाले समय लिने गरेकोतर्फ ध्यान दिन गृहमन्त्री थापाले सदनको ध्यानाकर्षण गराए। उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ५ दिनभित्र निर्मलाका हत्यारा पक्राउ गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको लामो समय बितेको र त्यसबारे सरकारको आधिकारिक धारणा स्पष्ट गर्न कांग्रेसका सांसद गगन थापाले गृहमन्त्रीसँग माग गरे। गृहमन्त्री थापाले पोखरेलको बचाउ गरे। ‘अपराधीलाई ५/१० दिनभित्र पक्राउ गर्नुपर्छ भन्ने स्पिरिटका साथ उहाँ (पोखरेल)ले भन्नुभएको होला’, गृहमन्त्री थापाले जवाफ दिए, ‘रक्षामन्त्रीले बोल्नुभएको विषयमा गृह मन्त्रालयलाई ठोस जानकारी छैन।’ यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।
गृहमन्त्री रामबहादुर थापा गगन थापा