राजनीति

नेपालको संघीयताको मोडल खिचडी पाराको : डा. भट्टराई

नेपालको संघीयताको मोडल खिचडी पाराको : डा. भट्टराई

बनेपा ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताएका छन् । 

 

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा बुधबार पार्टी जिल्ला समितिले आयोजना गरेको ‘संघीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उनले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने बताएका हुन् । उनले भने, 'त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको संघीय व्यवस्था पनि कुनै वेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक संक्रमणकालमा हामीलाई संघीयता चाहिएको छ ।'

 

संयोजक डा भट्टराईले अहिले बनाएको संघीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको बताए । उनले अरू प्रदेशहरुले जातीय, सांस्कृतिक पहिचान बिनाको प्रदेशको नामकरण गरेको उल्लेख गर्दै ३ नं प्रदेशको नामकरण जातीय बाहुल्यता भएको तामाङ र नेवारको पहिचान रहने गरी नामकरण गर्नुपर्नेमा जोड दिए । 

 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामाले तीन वटा सरकारले पाउने अधिकार क्षेत्रलाई उचित ढंगले उपयोग गर्दै त्यसको कार्यान्वयनको अभ्यासलाई तलसम्म छिट्टै लानुपर्ने बताए । मुलुक संघीयताबाट पछि नहट्ने भएकाले त्यो अधिकार क्षेत्रमा गरिरहेको अभ्यासलाई थप विकास गर्ने क्रममा भएको कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

 

माघ १५ गतेदेखि पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा एक हजार ८७९ किलोमिटर यात्रा गर्दै ती स्थानहरुमा स्थानीय तहका पदाधिकारीहरुसँग संवाद गर्ने डा. भट्टराईको कार्यक्रम छ ।

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी

विशेष