राजनीति

मन्त्री महासेठले भने : ५ वर्षभित्र पूर्व-पश्चिम विद्युतीय रेल कुदाउँछौँ

मन्त्री महासेठले भने : ५ वर्षभित्र पूर्व-पश्चिम विद्युतीय रेल कुदाउँछौँ

सिन्धुली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताएका छन् । 

 

सिन्धुलीको दुधौली नगरपालिका कमलाखोँचमा निर्मित पक्की पुलको बुधबार उद्घाटन गर्दै उनले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताए । उनले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताए । 'बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ' उनले भने । 

 

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिए । पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौंदेखि केरुङ अबको ६ महीनामा डिपिआर तयार भइसक्ने दाबी उनले गरे । जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले बताए । 

 

कमलाखोँचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाइ ५०० मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडौंका प्रबन्धक निर्देशक राजेन्द आचार्यले बताए । पुल निर्माण भएको ७५० मिटर दायाँ/बायाँ नदी नियन्त्रणसमेत गरिएको छ । 

 

पुलको चौडाइ १०.५ मिटर छ भने १.५ मिटर दुवैपट्टि फुटपाथ छ । पुल निर्माण गर्न रु ६१ करोड २२ लाखमा सम्झौता भएकोमा हालसम्म रु ६० करोड ९० लाख निकासा भएको उनको भनाइ थियो । कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४०० मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ ।

रघुवीर महासेठ

विशेष