प्रचण्डले ओलीलाई भेटेरै जनाए असन्तुष्टि, भेटले असमझदारी झन बढायो
काठमाडौं : भेनेजुएला प्रकरण र नयाँ माओवादी जन्मने प्रचण्डको अभिव्यक्तिले नेपाली राजनीति तरंगित भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वयबीच विवाद समाधानको प्रयास भएको छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएपनि यो परिणाममुखी हुन सकेन । भेटमा प्रधानमन्त्री ओलीले दाहाललाई फकाउन प्रयास गरेपनि दाहाल सन्तुष्ट भएनन् । उनले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भइरहेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरे ।
बालुवाटारले भने असमझदारीका विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको भनी प्रचार गरिरहेको छ । पछिल्लो समय देखिएको असमझदारी लम्व्याउन नहुने विषयमा छलफल भएपनि दुवै नेताबीच कुरा मिल्न नसकेको बुझिएको छ ।
भेनेजुयला संकटका विषयमा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिका विषयमा प्रधानमन्त्री ओलीले प्रचण्ड शब्दमा ’चिप्लिए’ को बताएपछि दुई अध्यक्षबीच सम्बन्ध चिसिएको थियो। शुक्रबार भएको एक कार्यक्रमा अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति आलोचना गरेपछि नेकपा नेतृत्वको असमझदारी सतहमा आएको हो।
पार्टी एकीकरणकै चरणमा रहेका बेला अध्यक्षद्वयबीच मन मिल्न नसकेको भन्दै कार्यकर्ता स्तरबाट आलोचनासमेत हुन थालेको छ ।