वाइडबडी खरिद प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको वाइडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन।
प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मान दर्मन गर्न खोजेको भन्दै आपत्ति पनि जनाए। शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा उनले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर लाञ्छना लगाउने, काममर्दन गर्ने काम गरेपनि त्यो सत्य नभएको बताए। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले मन्त्री अधिकारीसहित सो दुर्घटनामा परी निधन भएका सातै जनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। प्रधानमन्त्री एवं पार्टी संसदीय दलका नेता ओलीको अध्यक्षतामा बसेको बैठकले हेलिकोप्टर दुर्घटनामा परी निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदन पनि व्यक्त गरेको छ।
बैठकले सो हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाका परिवारको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई अनुरोध गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकका बोल्दै प्रधानमन्त्री एवं पार्टी संसदीय दलका नेता ओलीले मन्त्री अधिकारीलाई आँखामा राखेपनि नबिझाउने नेताको रुपमा स्मरण गरे। उनले प्रतिनिधिसभाका सांसदसमेत रहेका मन्त्री अधिकारीको निधनबाट आफू अत्यन्तै दुःखत भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको परिवारको अवस्था र आवश्यकतालाई हेरेर सरकारले आवश्यक आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।
बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंग रक्षक अर्जुनकुमार घिमिरेको निधन भएको थियो।
केपी शर्मा ओली