कृषिमा आधारित उद्योगले मात्रै आर्थिक विकास सम्भवः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सरकारले शिक्षा, विज्ञान र प्रविधिका क्षेत्रमार्फत कृषिको विकास गर्न सक्ने बताएका छन् । राष्ट्रिय कृषि आयोगले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कृषिमा आधारित उद्योगले मात्रै आर्थिक विकास सम्भव छ ।’ उनले नागरिकका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग नियमित छलफल भइरहेको बताए । राष्ट्रिय कृषि आयोगले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा प्रचण्डले विकासका काममा प्राथमिकता छुट्याएर गर्नका लागि छलफल भइरहेको बताए ।
सरकार गठनको पहिलो वर्षमा कतिपय महत्वपूर्ण काम भएको उनले औँलाए । प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवातसँगै संविधानको कार्यान्वयनका लागि विभिन्न कानून निर्माण र छिमेकीसँगको सम्बन्ध सुधारका काम यो एक वर्षमा भएको उनले बताए । प्रचण्डका अनुसार सरकारले किसानका जीवनमा प्रत्यक्ष असर गर्ने के भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेको छ । उनले भने, ‘आगामी बजेटमा जनताका गुनासो सम्बोधन गरेर अघि बढ्न छलफल भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले सरकारले कृषि क्षेत्रका सुधारका लागि सबैभन्दा पहिले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँलाए । शिक्षामा आमूल परिवर्तनले मात्रै कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि र रोजगारी बढ्ने उनले बताए । पूर्वमन्त्री हरिबोल गजुरेलले कृषिलाई कसरी सम्मानित पेशाका रुपमा स्थापित गर्ने चुनौतीका रुपमा रहेको औँलाए । पूर्वमन्त्री गणेश साहले एउटा किसानको आम्दानी बढ्दा त्यसको बहुआयामिक प्रभाव परिवार र समुदायमा पर्ने बताए । पूर्वमन्त्री हरिप्रसाद पराजुलीले खाद्य सुरक्षा किसानको अधिकारसँगै उपभोक्ताको अधिकारसँग जोडिएको बताए ।