प्रधानमन्त्री ओलीको टोलीमा रहदैनन् मन्त्री महासेठ ?
जनकपुर । शनिवार भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले एकाएक यस्तो वाक्य सुनाए जसले धेरैलाई झस्कायो खासगरी जनकपुरवासीलाई । किनभने उनको त्यो अभिव्यक्ति जनकपुरमा आएको हो ।
मुजेलीया स्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयको कार्यक्रममा मन्त्री महासेठले आफू मन्त्री नरहेपनि सांसद पदमा रहिरहने र जनकपुरको विकासका लागि निरन्तर तयार रहने बताए । कुरा घुमाएर बोलेपनि मन्त्रीको कुरा सबैले बुझे । यसको सांकेतिक अर्थ राजिनामा नै हो ।
आखिर एकाएक राजिनामाको कुरा किन आयो ?
केही समय यता मन्त्रीपरिषद हेरफेरको चर्चा व्यापक छ । फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा दिएको अभिव्यक्तीपछि त स्पष्ट भइसकेको छ कि ढिलो चाँडो चैत महिनाभित्रै मन्त्रीपरिषद हेरफेर हुन्छ । अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग पटक पटक मन्त्री परिवर्तनबारे छलफल गरिरहेका छन् । सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला यस्तो छलफल हुनु अस्वभाविक पनि होइन ।
एक वर्षे कार्यकाल पुरा गरेको सरकारका मन्त्रीहरु पनि त्यस आलोचनाबाट टाढा छैन् । त्यसैले प्रधानमन्त्री ओलीले आफ्नो टीममा केही फेरबदल गर्न खोजेका छन् । तर प्रधानमन्त्री ओली केही संकटमा छन् । सिधै मन्त्रीलाइ वर्खास्त गरिदा सरकारको लोकप्रियता कम हुने हो कि भन्ने कुराले पनि उनलाई सताएको छ । त्यसलाई मध्यनजर राख्दै प्रधानमन्त्री ओली फरक शैलीमा मन्त्री फेरबदलको तयारी गरेका छन् । मन्त्रीपरिषदमा परिवर्तनको चरणबद्ध योजना उनले प्रारम्भ गरेका छन् । र मन्त्री महाशेठको अभिव्यक्ति त्यसकै एउटा हिस्सा हो ।