मन्त्रीको विदेश भ्रमण मोह : किसानको कोटामा चीन जाँदै कृषि मन्त्री खनाल

काठमाडौं । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्सपो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको हो।
मन्त्री खनालको टोलीमा कृषि मन्त्रालयबाट दुईजनाले मात्र प्रतिनिधत्व गर्दै छन्। टोलीमा उनी आबद्ध नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला तहका कार्यकर्ता पनि छन्। मन्त्रालयबाट मन्त्री खनाल र सहसचिव हरिबहादुर केसी मात्रै छन्। चिया व्यवसायीको कोटामा चीन जान लागेको टोलीमा तत्कालीन माओवादी केन्द्रका गुल्मी जिल्ला सचिव बुद्धि बिसी, गुल्मी नेकपा जिल्ला तहका नेता मधुकृष्ण पन्थी, धुर्कोट गाँउपालिका अध्यक्ष भूपाल पोखरेल, गुल्मी छत्रकोटका तत्कालीन माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष रामप्रसाद पाण्डे छन्। चिया तथा कफी विकास बोर्डबाट विजय मिश्र र राम एकवाल यादव पनि सोही टोलीमा चीन जाँदै छन्।
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले शनिबार मन्त्रीसहितको टोली चीन भ्रमणमा जान लागेको बताए। उनले चीन जाने टोलीका अन्य सदस्यबारे आफू जानकार नभएको बताए। उनले भने, ‘मन्त्रीसहित एउटा टोली शनिबार चीन जान लागेको छ तर टोलीमा रहेका अन्य सदस्यबारे मलाई जानकारी छैन।’
‘चिया व्यवसायी तथा चिया किसानका लागि छुट्टयाएको कोटामा मन्त्री आफैंले चासो राखेपछि उनको नाम राखिएको हो ।’
चियासम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली विदेश भ्रमणमा गएको उनले स्वीकारे। स्रोतका अनुसार मन्त्रीको भ्रमण टोलीमा सहभागी हुने सदस्यबारे उनको सचिवालयले सकेसम्म्म गोप्य राख्ने प्रयास गरेको छ। भ्रमण टोलीमा रहेका सदस्यबारे मन्त्रालयका कर्मचारी कसैले बोल्न चाहेनन्। टोलीमा चिया तथा कफी विकास बोर्डका अध्यक्ष शेषकान्त गौतम भने सहभागी छैनन्।
एक्सपो कार्यक्रमको निम्तो चिया विकास बोर्डलाई आएको बताउँदै सो कार्यक्रमको नेतृत्व मन्त्रीले गरेकोे बताए। उनले भने, ‘कार्यक्रम चिया व्यवसायीहरूका लागि हो। त्यस टोलीमा केही जनप्रतिनिधिहरू पनि हुनुहुन्छ। मन्त्री प्रमुख अतिथि भई जाँदै हुनुहुन्छ।’ तर मन्त्रालय स्रोत भन्छ, ‘चिया व्यवसायी तथा चिया किसानका लागि छुट्टयाएको कोटामा जान मन्त्री आफैंले चासो राखेपछि उनको नाम राखिएको हो।’
प्रवक्ता सुवेदीका अनुसार भ्रमणको सबै खर्च आयोजक राष्ट्रले बेहोर्ने छ। मन्त्री खनालले आफ्नो चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गराएका छन्। एक्सपोमा विश्वभरका चिया किसान तथा चिया व्यवसायी सहभागी हुनेछन्। चिया खेती तथा चियाको व्यावसायिक विकाससम्बन्धी अवलोकन तथा अन्य कार्यक्रममा उनीहरू सहभागी हुनेछन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
चक्रपाणि खनाल चीन चिया किसान