राजनीति

कांग्रेसको भद्रगोलः अझै पनि स्व. सुशील कोइरालाले बाँडछन् पार्टी सदस्यता !

कांग्रेसको भद्रगोलः अझै पनि स्व. सुशील कोइरालाले बाँडछन् पार्टी सदस्यता !

काठमाडौं । लोकतान्त्रिक मुलकमा सत्ता पक्षको जति भूमिका हुन्छ त्योभन्दा ठूलो भूमिका प्रमुख प्रतिपक्षको हुन्छ। सत्ता पक्षको कामकारबाहीको सुक्षम रूपमा मूल्यांकन गर्नेदेखि लिएर उसले गरेका गलत कार्यको निगरानी गरेर सरकारलाई सचेत गराउने काम हुन्छ प्रमुख प्रतिपक्षको। अहिले, दुई तिहाईको शक्तिशाली सरकारको प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेस पार्टी। सरकार बनेको १ वर्ष बित्दासम्म कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन।

 

संसदीय दलको विधानमै छाया सरकारको प्रावधान राखेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्तरिक किचलोका कारण आफैं शिथिल हुँदै गएको छ। जब, आफ्नै पार्टीलाई गतिशील बनाउन सक्दैन भने त्यस्तो पार्टीले सरकारले गरेका गलत कदमको विरोध गर्ला भनेर कसरी अपेक्षा गर्ने?

 

सरकारको निगरानीको त कुरै छोडौँ अहिले कांग्रेसभित्र कामकारबाही प्रतिको हेलच्याक्राइँ र भद्रगोलले पराकास्ट नै नागेको देखिन्छ। नपत्याए तपाईं हामीले हिजोमात्रै अर्थात् २०७५ चैत्र १ गते नेपाली कांग्रेस पार्टीले वितरण गरेको एउटा सदस्यता पत्र हेर्न सक्छौँ। दुई वर्षअघि नै निधन भएका नेपाली कांग्रेसका भूतपूर्व सभापति सुशिल कोइरालाले हस्ताक्षर गरेको सदस्यतापत्र वितरण गरेको छ।

 

पूर्वसभापति कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो तर, २०७५ चैत्र १ गते वितरण गरिएको सदस्यता पत्रमा उनकै हस्ताक्षर भेटिएको छ। सो सदस्यता पत्र कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने मायादेवी गाउँपालिकाका एक व्यक्तिलाई वितरण गरिएको भेटिएको हो। नयाँ सदस्यता छाप्नका लागि पक्कै पनि रकम नभएर त यसो गरिएको होइन होला! देशकै प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्रको भद्रगोल स्थितिले यस्तो भएको हो।

 

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठले उक्त सदस्यता पत्रलाई सामाजिक सञ्जाल फेसबुक शेयर गरेपछि टिप्पणीमा एक रुपैयाँ लाग्ला फेर्दा सभापति  देउवाज्यू ! नयाँ सदस्यता रसिद छापे हुन्न? आर्थिक स्थिति कम्जोरै हो र ! भन्दै ब्यंग्य गरेका छन्। सोही घटनालाई लिएर उनले सबै राजनीतिक पार्टीमा भद्रगोल भएको भन्दै दुख व्यक्त गरेका छन्।

 

'हिजो जारी भएको सदस्यतापत्रमा दुई वर्षअघि नै दिवङ्गत सभापति सुशील कोइरालाको हस्ताक्षर?  (एक रुपैयाँ लाग्ला फेर्दा, सभापति देउवाज्यू ! नयाँ सदस्यता रसिद छापे हुन्न ? आर्थिक स्थिति कमजोरै हो र !) भद्रगोल छ हजुर, नेकपा, नेपाली कांग्रेस, राप्रपा, विप्लव, राजपा, सिके राउत, पूर्व राजाको परिवारलगायत सबैतिर भद्रगोल र रामभरोसे छ!' उनले टिप्पणीमा लेखेका छन्।

 

यसो त, मुलुकै पहिलो प्रजातान्त्रिक पार्टी भनेर दाबी गर्ने नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको भने चौतर्फी आलोचना भइरहेको छ। सरकारले गर्न नहुने त्यस्ता दर्जनौँ गल्ती गरिसकेको छ तर, कांग्रेसले सरकारका कमजोरीबारे चासो दिँदै सरकारलाई गलत कार्य नगर्न उर्दी जारी गर्न सकेको छैन।

 नेपाली कांग्रेस शेरबहादुर देउवा सुशिल कोईराला

विशेष