मुख्य समाचार देश

सप्तरीमा बन्ने भयो मदन भण्डारी खेलग्राम, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा शिलान्यास

सप्तरीमा बन्ने भयो मदन भण्डारी खेलग्राम, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा शिलान्यास

राजविराज। सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज एक समारोहका बीच शिलान्यास गर्नुभयो । 


१ सय २४ बिघामा खेल ग्राम निर्माणका लागि चालु आर्थिक वर्षका लागि २५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिए । यसैगरी राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ रुपनगरमा मदन भण्डारी मार्गको शिलान्यास पनि गरे । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले खेलाडीको शारीरिक र मानसिक विकास नभएसम्म खेलकूदको विकास नहुने जीकिर गरे । 


नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताए । 

कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताइन् । 
शिलान्यास गरिएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ । यसका लागि करीब रु एक करोड विनियोजन भई ठेक्का लागि सम्झौता हुने तयारीमा रहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । 

मदन भण्डारी गणेशप्रसाद तिमिल्सिना मदन भण्डारी खेलग्राम

विशेष