विप्लव समूहमाथि घुँडामुनि गोली ठोक्न निर्देशन

रोल्पा । नेक्रवित्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ– घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।
विस्फोट र आगजनीका घटना बढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउनसक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना नदेखिएको उनीहरूको विश्लेषण छ । सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा आधार क्षेत्र बनाएको रोल्पामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले बताए ।
‘चन्द समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ प्रजिअ एमसीले भने, ‘हामीले सुरक्षाकर्मीलाई अलर्ट राखेका छौं ।’ उनका अनुसार चन्द समूहका कार्यकर्ताले तीन साताअघि यहाँ टेलिफोनका दुई टावरमा बम हानेका थिए । स्थानीय तहका गाडीहरूमा आगजनी गरेका थिए । सदरमुकामका साथै ग्रामीण क्षेत्रका आधा दर्जन स्थानमा विस्फोटक पदार्थ भेटिएको थियो । ‘बम राखेर तर्साउन खोजेजस्तो देखिएको छ, सुरक्षा संयन्त्रलाई सचेत बनाएका छौं,’ प्रहरी नायब उपरीक्षक दीपक खड्काले भने ।
विस्फोट र केही कार्यकर्ताले हतियार देखाएको सूचनापछि रोल्पाका सबै प्रहरी इकाईमा सुरक्षाकर्मी थपिएको उनले बताए । जिल्ला सुरक्षा समितिले विस्फोट र आगजनीका घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ । हिंसात्मक गतिविधि रोक्न सबै सुरक्षा संयन्त्रबीच समन्वय गरेर परिचालन गरिएको समितिले जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
नेत्रविक्रम चन्द सरकार