लहानमा सिके राउतको गोप्य बैठक, प्रहरी र सञ्चारकर्मीलाई 'नो इन्ट्र'
लहान : सरकारसँग भएको सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु हुँदैछ।
गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएको हुन्। बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने छन्।
लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आइतबार मध्यान्ह लहान आइपुग्ने कार्यक्रम छ। बैठकमा सहभागीलाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ। बैठकमा सहभागी हुन आउने हरेकलाई आफ्नो नागरिकता अनिवार्य गरिएको भनिए पनि त्यसको पुष्टि भने भएको छैन।
बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ। सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन्।
सिके राउत