विप्लव छाडेर पूरानै घर फर्किए टेकतारा

बेंसीसहर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लमजुङ जिल्ला संगठन कमिटिका सदस्य टेकबहादुर बोहोरा (टेकतारा) सत्तापक्षीय नेकपामा प्रवेश गरेका छन्। नेकपा बेंसीसहर नगरपालिका ६ संयन्त्रले सारिङमा एक कार्यक्रमको आयोजना गरी उनलाई स्वागत गरेको हो। लमजुङमा कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक मानिएका उनी पछिल्लो समय विप्लव नेतृत्वको पाटीमा आवद्ध थिए।
तत्कालीन पार्टी अध्यक्ष प्रचण्डसँग मतभेद भएपछि २०७१ सालमा मोहन बैद्य नेतृत्वको पार्टीहुँदै उनी पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा संगठित भई सक्रिय थिए। उनले आफू आवद्ध पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको घोषणा गरेका छन् । उनी २०५३ देखि तत्कालीन नेकपा माओवादीमा लागेका थिए। करीब ७२ वर्षीय उनी नेकपा प्रवेश गरेपछि गाउँमा खुसियाली छाएको छ । स्थानीयले खदा, टोपी लगाइदिनुका साथै अबिरजात्रा गरेका थिए । उनले आफू जुन गाडीमा चढ्यो, त्यही गाडी पन्चर मात्रै हुने गरेको भन्दै पुरानै घर (पार्टी) फर्किएको बताए। उनले आफ्नो छरछिमेक, इष्टमित्र, आफन्त र परिवारबाट टाढा रहन नसक्ने बताउँदै बरु कुनै पद नचाहिने र अभिभावक भएर बस्न तयार रहेको बताए ।
पछिल्लो समय आफू रहेको पार्टीका नेताले आफ्नो हैकम जमाएको र पार्टीले लिएको एकीकृत जनक्रान्तिका कुरा छोडी हतियार लिएर हिँडेकाले आफू पुरानै घरमा फर्किन बाध्य भएको बताए। ‘संघर्ष भनेको युद्ध होइन, हतियारसहितको युद्धले क्रान्ति अब सम्भव छैन । त्यसैले आफ्नै घरमा बसेर संघर्ष गर्ने भनी म आफ्नै घर फर्केँ’ उनले भने । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
नेत्र विक्रम चन्द लमजुङ टेकबहादुर बोहोरा टेकतारा