राजनीति

होलीमा शक्तिकेन्द्र मजबुत बनाउने होड !

होलीमा शक्तिकेन्द्र मजबुत बनाउने होड !

काठमाडौं । रङहरुको पर्व होलीले दिने सन्देश हो– आपसी प्रेम र सद्भाव  । घरपरिवार, साथीभाई, ईष्टमित्रबीच सम्बन्ध सेतूलाई हार्दिक बनाउने पुनीत उद्देश्यले यो पर्व मनाइने भएपनि  राजनीतिमा भने दशैंको टीकामा अनुवाद हुँदै गएको देखियो ।

एक वर्षबीच नेपाली राजनीतिमा को कति बलबान बन्यो, को शक्तिहीन भयो ? त्यसको आंकलन यस्ता पर्वको माहोलले देखाउने गरेको छ । कार्यकर्ता पनि खण्डित भएर होलीको निहुँमा कमाण्डिङ जर्नेलहरुको हात दह्रो बनाउन हाजिरी बजाउन लालायित देखिन्छन । मानौं, यसले नेता–कार्यकर्ताको सम्बन्ध मोही र तल्सिङ शैलीमा विकास गरेको छ ।

पोहोर एउटा शक्तिकेन्द्रमा रंगिन पुगेको कार्यकर्ता यो पल्ट नयाँ सटरमा देखापरेको छ । एकापसमा रंग दलेर आत्मीय प्रदर्शन भन्दा पनि परबाट राजाशैलीमा अविरको टीका लगाएर आर्शिर्वाद ग्रहण गरिएका दृश्य देखिएका छन् । कर्मचारी, पत्रकार, पार्टी कार्यकर्ता आफू अनुकूल नेताको घरदैलो पुगेर होली रंगमा रमाएका देखिन्छन् । एउटा नेताको आँगन टेकेको कार्यकर्ता अर्को नेताको घरमा विरलै भेटिन्छ । पार्टीभित्रको गुट र शक्तिसंघर्षका छनक रंगमा पनि छुटिन्छ ।

धन्न नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति अहिलेसम्म यो खेलकुदमा निरपेक्ष देखिएका छन् । अविर लगाइदिने नाममा कार्यकर्ताको परेड प्रदर्शन आगामी महाधिवेशनमा उपस्थितिको पूर्वाभ्यास पनि हो । पर्वको उद्देश्य जे भएपनि यसले कार्यकर्ता, नेताबीच सम्बन्ध नविकरणको राम्रै अभ्यास भएको देखिन्छ । प्रतिपक्ष नेपाली काँग्रेसभित्र पाकेको गुट उपगुटको राजनीतिलाई यो दृश्यले  मलजल गरेको प्रष्ट हुन्छ । सरकारका मन्त्रीले पनि यो बाटो पछ्याएका छन् ।

राजनीतिलाई आफ्नो पार्टटाईम बताउँदै आएकी काँग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो पिताको नाममा खोलिएको जीपी कोइराला फाउन्डेशनको व्यानरमा विराटनगरस्थित फाउण्डेशनको कार्यालयमा भव्य होली कार्यक्रम गरिन । त्यो कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, विभिन्न पार्टीका नेता, कार्यकर्ता, पत्रकार, कर्मचारी, पुलिस प्रशासनका सयौं मान्छे उपस्थित थिए ।  यो भेला सांस्कृतिक मात्र नभएर  ‘कोइराला निवास’को रिमिक्स भर्सन थियो । मूल कोइराला निवासको धर्म डा. शेखर कोइरालाले मात्र धानेका थिए । यही साइतमा डा. सशांक कोइरालाले टोखामा भोज आयोजना गरेर पार्टीमा गुटउपगुट नभई मेलमिलापको राजनीति आरम्भ गर्ने उद्घोष गरे ।

विरासत राजनीतिको निरन्तरताको अर्को पात्र काँग्रेस नेता प्रकाशमानसिंहले पनि आफ्नो निवास चाक्सीवारीमा यस्तै भेला गरे । आफ्ना समर्थक र पार्टीका शीर्ष नेताहरुको बाक्लो उपस्थिति देखिएको भेलाको सन्देश उही थियो– शक्तिकेन्द्रको सशक्त उपस्थिति ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उर्जामन्त्री वर्षमान पुनले आफ्नै निवासमा कर्मचारी, परिवार सदस्य र कार्यकर्तासंग रंग रमाइलो गरेका छन् । काँग्रेस नेता गगन थापाले श्रीमती र दुई छोरीसंग होली खेलेको फोटो सार्वजनिक गरेका छन् । यो सांस्कृतिक पर्व हो । रंगले भूगोल र भावनासंग जोड्ने यो पर्वलाई पर्वकै रुपमा मनाउन जरुरी छ । गुलाफको फूलभित्र पसेको झुसिलकिरा जस्तो यो पवित्र पर्वमा चाकरी, चाप्लुसी घुसाउनु प्रत्युत्पादक ठहर्ने पक्का छ । 

विशेष