तत्काल कुनै किसिमको आक्रमण नगर्ने विप्लव समुहको स्पष्टोक्ति (विज्ञप्तिसहित)
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समुहले पार्टीमाथि प्रतिबन्ध लगाएर सरकार फाँसीवादतर्फ पतन भएको टिप्पणी गरेको छ ।
सरकारले पार्टीमाथि लगाएको प्रतिबन्धको चर्को विरोध गर्दै विहिवार नेकपाका मध्य केन्द्रीय कमाण्डका संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले विज्ञप्ति सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा उल्लेख गरिएको छ, "नेपालको उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी- पीके (केपी शर्मा ओली, पुष्पकमल दाहाल) सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासीवादतर्फ पतन हुँदैछ भनी गरेको संश्लेषण वर्तमान घटनाक्रमले राम्रोसँग पुष्टि गरेको छ । हाम्रो पार्टीका गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फासीवादको भद्दा नमुना हो।"
पार्टीका स्थायी समिति सदस्यसमेत रहेका ओलीले पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारी रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेका छन्। केही दिन अगाडि गिरफ्तार गरिएका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत सम्पूर्ण नेता-कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।