प्रतिबन्ध होइन संविधान विरोधी गतिविधि नियन्त्रण: प्रवक्ता श्रेष्ठ
गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण गरेको बताएका छन् ।
गोरखामा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए। उनले विप्लव समूहले जुनजुन संविधान विरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काम मात्र सरकारले गरेको बताए ।
प्रवक्ता श्रेष्ठले विप्लवको लक्ष्य राजनीतिक भए पनि उसको गतिविधि राजनीतिक हुन नसकेको टिप्पणी गरे । उहाँले भने, “शान्तिपूर्ण बाटोबाटै समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न सकिन्छ तर उहाँहरु शान्तिसुरक्षामा खलल पुर्याउने, समाजमा अराजकता सिर्जना गर्ने उल्टो बाटो तिर लाग्नुभएको छ ।” प्रवक्ता श्रेष्ठले विप्लवको गतिविधिले समाजवादमा पुग्ने बाटोलाई खलबल्याउने काम मात्र गरेको आरोपसमेत लगाए ।