राजनीति

आज प्रधानमन्त्रीले विप्लव र सिकेका विषयमा संसदमा जवाफ दिने

आज प्रधानमन्त्रीले विप्लव र सिकेका विषयमा संसदमा जवाफ दिने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्दैछन् । आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

 

सल्लाहकार अर्यालका अनुसार संसद बैठककमा सरकारले गरेका कामकारवाही निर्णयबारे सांसदहरूले पछिल्लो समय संसदमा उठाएको प्रश्नलगायतका समसामयिक विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हन् ।

 

यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । यी विषयलाई लिएर संसदमा सांसदहरूले प्रश्न उठाएका थिए ।

 

विशेषगरी सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा स्पष्टता नभएको भन्दै प्रतिपक्ष र सत्तापक्षबाटै चर्को आलोचना भइरहेको छ। सम्झौताको दुई नम्बर बुँदालाई लिइर तर्क वितर्क भइरहेको हो । त्यस्तै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएर सरकारले देशमा पुनः द्वन्द्व निम्त्याउन लागेको आरोप लागेको छ। यी लगायतका विषयमा आइतबारको सम्बोधनमा प्रधानमन्त्रीले प्रस्ट पार्ने बताइएको छ।

 

प्रधानमन्त्रीको सम्बोधनपछि हिउँदे महाधिवेशनलाई समापन गर्ने संघीय संसद सचिवालयको तयारी छ। यसविषयमा संसद सचिवालयको कार्यव्यवस्थाको अहिले छलफल चलिरहेको बताइएको छ। यसअघि प्रधानमन्त्री ओलीले गत माघ ४ गते संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएका थिए ।

केपी शर्मा ओली

विशेष