राजनीति

मेरो सम्पूर्ण प्रयत्न रवीन्द्रको परिवारका सदस्यलाई उम्मेदवार बनाउनमा : वामदेव गौतम

मेरो सम्पूर्ण प्रयत्न रवीन्द्रको परिवारका सदस्यलाई उम्मेदवार बनाउनमा : वामदेव गौतम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आफूमाथि कुप्रचार सुरु भएको बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट एक विज्ञप्ति जारी गर्दै दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिने लागेको भन्दै कुप्रचार गरिएको बताएका हुन्।

 

उनले जारी गरेको विज्ञप्तिमा रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जलि दिन पोखरा पुगेको विषयलाई लिएर उनको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने आशा राखेको भन्दै भ्रमपूर्ण तथा षड्यन्त्रणपूर्ण कुप्रचार गरिएको उल्लेख गरेका छन्। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका नेता गौतमले शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको र जीवनभर नदिनेसमेत उल्लेख गरेका छन्।

 

'नेपाली राजनीतिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जलि दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ' उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो। मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन।'

 

उनले आफ्नो इच्छाविपरीत पार्टीले निर्णय गरे पनि रवीन्द्र अधिकारको दुःखद् निधनवाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार नबने बताएका छन्। उनले आफ्नो सम्पूर्ण प्रयत्न रवीन्द्रको परिवारका सदस्यलाई उम्मेदवार बनाउनमा लगाउने समेत उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बुधबार ताप्लेजुङको तारेभिरमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। मन्त्री अधिकारको शुक्रबार साँझ पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको हो।

 

यस्तो छ विज्ञप्ति :

फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध शुरु भयो। नेपाली राजनीतिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जलि दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ। यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो। मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म कं रविन्द्रको दुःखद निधनवाट खालिभएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन। मेरो सम्पूर्ण प्रयत्न स्व.क.रवीन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु।

वामदेव गौतम

सदस्य, नेकपा

१८/११/२०७५

वामदेव गौतम रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटना

विशेष