राजनीति

विप्लवबारे सरकारी धारणा : प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मत बाझियो

विप्लवबारे सरकारी धारणा : प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मत बाझियो

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन चैत महिनाभरको समय दिएका छन्। उनले सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा विप्लव समहूलाई संवादमा आउन यही चैत महिनाको समय दिइएको जानकारी दिए। तोकिएको समयमा वार्तामा नआए नियन्त्रण गर्ने दाबी उनको थियो। प्रधानमन्त्री ओलीले संसदीय बैठकमा यस्तो बताइरहँदा उता विराटनगरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हतियार बुझाएमात्र विप्लव समूहसँग वार्ता हुनसक्ने अभिव्यक्ति दिएका छन्। रक्षामन्त्री पोखरेलले विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको पनि दाबी गरे। विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको उनको भनाइ थियो।

 

प्रधानमन्त्री र रक्षामन्त्रीको मात्र होइन, सत्तारुढ दलकै अन्य नेतामा पनि विप्लव समूहलाई हेर्ने दृष्टिमा मतान्तर छ। गत बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समूहसँग वार्ता हुन नसक्ने बताएका थिए। उनले त्यसो भनिरहँदा नेकपाकै सांसद सोमप्रसाद पाण्डे, नेताहरु सुरेश आलेमगर र लीला भण्डारी विप्लव समूहका केही नेतासँग सम्पर्क गरिरहेका थिए। यसको जानकारी प्रधानमन्त्रीलाई समेत रहेको र उनैले सोमबार संसदीय दलको बैठकमा विप्लव समूहलाई चैतभित्र वार्तामा आउन आग्रहसमेत गरेका थिए।

 

‘उहाँहरु सहमतिमा आए ठीकै छ नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ। विकास निर्माणमा अवरोध, शिक्षास्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झन्डा प्रयोग गर्ने रु यस्तो प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्छ नै’, प्रधानमन्त्री ओलीले भने। सांसदलाई सम्बोधन गर्ने क्रममा उनले विप्लव समूहको धम्कीबाट नडराउन समेत आग्रह गरेका थिए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

नेत्रविक्रम चन्द विप्लव इश्वर पोखरेल केपी शर्मा अाेली

विशेष