देश राजनीति

कांग्रेसका नेताले पार्टीविरुद्ध बोले कारवाही

कांग्रेसका नेताले पार्टीविरुद्ध बोले कारवाही

काठमाडौं । कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ । समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभाबी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो । समितिले कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका गतिविधि लिखित रूपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ।

 

‘त्यस्ता काम, कारबाही र गतिविधि पार्टी विधान र नियमावलीबमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्ननगराउन सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ । अनुशासन समिति सदस्य धनराज गुरुङले नेताहरू जथाभावी आरोप-प्रत्यारोपमा उत्रिएपछि यस्तो निर्णय गर्नुपरेको जानकारी दिए। ‘कांग्रेसमा तथ्यभन्दा पनि भावनामा बहकिएर घोचपेच गर्ने, नालायक भनेर गाली गर्ने संस्कार नै बसिसक्यो,’ गुरुङले भने, ‘त्यसैले जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न नेता कार्यकर्तालाई सचेत गराएका हौँ।’

 

उजुरी हाल्न चैत मसान्तसम्म समय 
समितिको बैठकले नेताहरूले पार्टी हितविपरीतका कुनै काम, कारबाही र गतिविधि गरेको भएमा चैत मसान्तभित्र प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । गुरुङका अनुसार प्रमाणसहित उजुरी गर्नुपर्नेछ । कुनै नेताले चुनाव वा अन्य समयमा पार्टी अनुशासनविपरीत काम गरेको ठोस प्रमाण पेस भएमा समितिले उजुरीउपर छानबिन गर्ने जानकारी गुरुङले दिए । कांग्रेसले चैत पहिलो साता भीष्मराज आङ्देम्बेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति गठन गरेको थियो  । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

काँग्रेस कांग्रेस केन्द्रीय अनुशासन समिति

विशेष