अमेरिकामा रहेका केही मानिसले नेपाललाई बदनाम गरे : प्रचण्ड
काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्केका छन् । बुधबार बिहान न्यूयोर्कबाट प्रस्थान गरेका प्रचण्ड विहिबार दिउँसो ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेपनि फ्लाइटमा ढिलाई हुँदा उनी सवा ५ बजे मात्र आइपुगे । विमानस्थलमा संचारकर्मीहरुसँग संवाद गर्दै अध्यक्ष दाहालले पत्नी सीताको स्वास्थ्यमा सुधार आएको जानकारी गराए ।
द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ । तर, मलाई जानकारी दिइएन । एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ।’
उनले थपे, ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ। हुनेवाला केही पनि थिएन । अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ जारी गरिसकेको थियो।’ यसै विषयमा थप टिप्पणी गर्दै अध्यक्ष दाहालले अमेरिकामा रहेका केही मानिसले मुलुकलाइ बदनाम गर्न खोजेको बताए ।
आफु अमेरिका गएकोले पार्टी एकताको बाँकी प्रक्रियामा ढिलाई भएको जीकिर गर्दै उनले अब पार्टी एकताको कामले गति लिने बताएका थिए ।