महासमिति सदस्यले नै दिए सभापति देउवाविरुद्ध उजुरी

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्दै कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईँले पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाइँले सभापतिले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन्।
बजगाईँले उजुरीमा ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन्। साथै दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट कमजोर बनाएको आरोप लगाएका छन्। साथै प्रमुख प्रतिपक्षी दलका नेता भएर पनि सरकारको विवादित नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गराउन सक्रिय भूमिका निर्बाह गरेको भन्दै उनले उजुरीमा हदैसम्मको कारबाही गर्न अनुशासन समिति समक्ष माग गरेका छन्। केन्द्रीय अनुशासन समितिले महासमिति सदस्य बजगाईँको उजुरीलाई ११५ नम्बरमा दर्ता गरेको छ।
देउवामाथि कारबाहीको माग गर्ने बजगाईं गोरखा क्षेत्र नम्बर १ भिमसेन थापा गाउँपालिका(१ मसेल निवासी हुन्। उनी गोरखाबाट तीन पटकसम्म महासमिति सदस्यमा निर्वाचित भइसकेका छन्। पछिल्लो प्रदेशसभा चुनावमा बजगाईं गोरखा क्षेत्र नम्बर १ (ख) मा पराजित भएका थिए। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
शेरबहादुर देउवा नेपाली काँग्रेस गोरखा राजेन्द्र बजगाईँ