राजनीति

राजा महाराजा बिर्साउने प्रधानमन्त्रीको चाकरी मोह (भिडियोसहित)

राजा महाराजा बिर्साउने प्रधानमन्त्रीको चाकरी मोह (भिडियोसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दुईदिने पूर्वाञ्चल भ्रमण राजामहाराजाको भ्रमण बिर्साउने शैलीमा आरम्भ भएको छ । झापा र मोरङका विभिन्न कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम तय भएसंगै आज विहानैदेखि मोरङ, सुनसरी र झापामा सुरक्षाका नाममा जनता आतंकित पार्ने काम शुरु भएको थियो । प्रधानमन्त्रीलाई स्वागतका नाममा चाकरी बजाउन विहानैदेखि विराटनगर विमानस्थलमा सयौं मानिसको भीड लागेको थियो ।

प्रधानमन्त्रीको स्वागतपछि प्रधानमन्त्रीको सवारी पछाडि देखिएको गाडीको ताँती राजामहाराजाको भ्रमण विर्साउने खालको थियो । यो स्वागत विराटनगरमा सीमित नभएर दर्जनौं गाडीको लर्को झापातर्फ लागेको थियो । झण्डै ५० मिटरको दूरीमा विराटनगरदेखि झापा सम्म प्रहरी उभ्याइएको थियो । कतिपय ठाउँमा आवतजावतमा रोक लगाइएको थियो ।  सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका क्षेत्रीय प्रमुखदेखि चौकीका सवारी साधन समेत प्रहरीको सुरक्षा खातिर उपयोगमा थिए । मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशका मन्त्री, स्थानीय निकायका प्रतिनिधि सरकारी सवारी साधन लिएर प्रधानमन्त्रीको चाकरीमा उपस्थित थिए ।

विराटनगरका जनप्रतिनिधि सरकारी प्लेटको साधन चढेर झापा पुगेका छन् । झापाका जनप्रतिनिधि सरकारी साधनको दुरुपोग गर्दै प्रधानमन्त्रीको स्वागतका लागि विराटनगर आएका थिए । निजी नम्बर प्लेटको सवारी साधनमा प्रधानमन्त्री पछ्याउनेको संख्या पनि उल्लेख्य थियो । अचम्म त के छ भने थुप्रै सरकारी कार्यालयका हाकिम समेत प्रधानमन्त्रीको पछुवा लागेर झापा पुगेका छन् । विवादास्पद व्यापारी, ठेकेदार, कलेज सञ्चालकहरु समेत प्रधानमन्त्रीको स्वागतमा उपस्थित थिए ।

यसअघि पनि यही कारण प्रधानमन्त्री ओलीको भ्रमण आलोचित हुने गरेको थियो ।

 

विशेष