राजनीति

विकासप्रेमी नेता अधिकारीलाई यसरी सम्झिन्छन् मोरङबासी

– सुमन घिमिरे 

विकासप्रेमी नेता अधिकारीलाई यसरी सम्झिन्छन् मोरङबासी

मोरङ । शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता हुन । उनी मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

 

विसं २०४८ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता अधिकारीले नेपाली कांग्रेसका जगत्मान आङदेम्बेलाई हराएका थिए । यसैगरी विसं २०५१ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन र २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता अधिकारी सोही निर्वाचन क्षेत्रबाट कांग्रेसकै बसन्त भट्टराईलाई हराउँदै निर्वाचित भएका थिए । विसं २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने उनी तत्कालीन नेकपा (माओवादी) का लालबहादुर सुस्लिङ मगरसँग पराजित भए । नेता अधिकारीले यस क्षेत्रको विकास निर्माणमा ठूलो योगदान दिएका छन ।

 

रतुवामाईस्थित बक्राहा खोलामा पुल, उर्लाबारी–बरडङ्गा–विराटनगर सडकखण्डमा कालोपत्र, उर्लाबारी–मधुमल्ला–रवि सडक निर्माण, बक्राहा, मावा, लोहन्द्रा खोला नियन्त्रणलगायतका काममा उनको योगदान रहेको छ । प्रत्येक पटक आफ्नो निर्वाचन क्षेत्रमा आउँदा क्षेत्रको विकास योजनामा चासो राख्ने र सबै राजनीतिक दलको भावनालाई सम्बोधन गर्ने उनको स्वभावलाई सम्झँदै यस क्षेत्रका मतदाता सामाजिक सञ्जालमा समवेदना व्यक्त गरिरहेका छन् । 

 

मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा स्व. अधिकारी निःस्वार्थ विकासप्रेमी नेता भएको बताउँछन् । 'पूर्वी मोरङको विकास, निर्माण र समृद्धिको काम गर्ने कुशल नेतृत्व गुमाएका छौँ', उनले भने, 'लोकतन्त्र र समृद्धिका लागि अहोरात्र खट्ने, कुशल सङ्गठनकर्ता, विकासप्रेमी नेता अधिकारीलाई यस क्षेत्रका स्थानीयवासीले कहिल्यै भुल्ने छैनन् ।' 

 

पहिले उर्लाबारी मावाखोला पसेर बगरमै परिणत भएको थियो, समाजसेवी एवं नेकपाका स्थानीय नेता मानबहादुर श्रेष्ठ भछन्, 'उहाँको सक्रियतामा सो खोलामा तटबन्ध निर्माण भएपछि उर्लाबारी अहिलेको अवस्थामा आएको हो । तत्कालीन मोरङको निर्वाचन क्षेत्र नं २ का गाउँमा सडक थिएन, बिजुली थिएन।' 

 

विसं २०५१ मा अधिकारी पहिलोपटक अर्थमन्त्री हुँदा उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड निर्माणका लागि औपचारिक रूपमा सरकारी योजनामा पर्न सफल भएको थियो । हाल सो सडकखण्ड निर्माण सम्पन्न भई सवारीसाधन सञ्चालन भइरहेका छन् । 

 

अधिकारी काठमाडौँमा रहँदा यस क्षेत्रका नेता, कार्यकर्ता एवं शुभेच्छुक उनलाई भेट्न जाँदा जहिल्यै पनि उनले उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड र बक्राहा, मावाखोलाका विषयमा जिज्ञाशा राख्ने गरेको नेकपाका नेतृ विद्या चाम्लिङ बताउँछन । उर्लाबारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोवद्र्धन शाक्य अधिकारीलाई कार्यकर्ताको निकै चिन्ता गर्ने नेताका रुपमा सम्झन्छन । 'निर्वाचनको बेलामा होस् या अन्य पार्टीको कार्यक्रममा उनले कार्यकर्ताको अवस्थाका विषयमा सधैँ चिन्ता गर्नुहुन्थ्यो', शाक्यले भने। 

 

नेता अधिकारीको कार्यकालमा देशमा विकास निर्माणको शुरुआत भएको तथा किसान, मजदुर, ज्येष्ठ नागरिकलाई महसुस हुनेगरी कार्यक्रम आएको थियो । पूर्वी मोरङको विकास निर्माणमा उदार मनका नेता भएकाले सबैले उनको उच्च सम्मान गर्ने गरेका छन् ।

भरतमोहन अधिकारी

विशेष