दिवंगत नेता अधिकारीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने नेकपाको निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले पूर्वउपप्रधामन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ। नेकपा सचिवालयको आइतबार बसेको बैठकले नेकपाका सबै कार्यालयमा पार्टीको झण्डा ३ दिनसम्म आधा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो।
त्यस्तै, हेलिकोप्टर हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रवीन्द्र अधिकारी र पूर्वउपप्रधामन्त्री भरतमोहन अधिकारीको सम्मानमा फागुन २३ गते श्रद्धाञ्जलिसभा गर्ने निर्णय पनि गरिएको नेकपाको सचिवालयले जनाएको छ।
फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको गरेको छ। एक पटक भौतिक पूर्वाधार तथा यातायात र चार पटक अर्थमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम र वृद्धवृद्धालाई मासिक भत्ता वितरण गर्ने नेताका रूपमा चर्चित छन् ।
त्यस्तै, पर्यटनमन्त्री अधिकारीको गतबुधबार हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो। बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।