समाज देश राजनीति

बिर्सिए सन्तनेता भट्टराई ! कांग्रेस च्यूत किन नहोस !

बिर्सिए सन्तनेता भट्टराई ! कांग्रेस च्यूत  किन नहोस !

नेपाली कांग्रेसले मात्र होइन मुलुकले नै गर्व गर्ने बिभिन्न नामहरु मध्ये सन्तनेता कृष्णप्रसाद भट्टराई पनि एक हुन् । अझ नेपाली कांग्रेसले बीपी कोइराला जत्तिकै दर्जामा नेता भट्टराई र गणेशमान सिंहलाईसमेत राखेर हेर्ने गरेको छ । तर, कांग्रेस बिचारहीन, सिद्धान्तहीन मात्र होइन आचरण, संस्कार र नैतिकहीनसमेत हुँदै गएको पुष्टि हुँदै गएको छ । 

 


फागुन २० नेपाली कांग्रेसले कसरी बिर्सिन सक्छ ? यो दिन कांग्रेसका सन्तनेता भट्टराईले देह त्याग गरेको दिन हो । सन्त नेताका रुपमा परिचित भट्टराईको ८७ वर्षको उमेरमा २०६७ साल फागुन २० गते निधन भएको थियो ।

 


जुन नेताको निष्ठा, आदर्श र नैतिकताको धरातलमा राजनीति गरिदैछ, उसैलाई बिर्सिएर कांग्रेस कसरी उभो लाग्छ ? फागुन २० गते कांग्रेसले केन्द्रसहित देशभर भट्टराईको सम्झनामा स्मृतिसभा गर्नुपर्ने हो । भट्टराईको व्यक्तित्व, बिचार र सन्देशमाथि अन्तक्रिया गरी प्रचारप्रसार गर्नुपर्ने हो । भट्टराईको निष्ठा, सदाचार अनुसरण गर्न सबैमा उत्साह जगाउनुपर्ने हो । तर, अचम्म कहिंकतै केहीपनि छैन । के कांग्रेसका सबै नेता महाशिवरात्रिको भाङ खाएर बेहोस भए ? 

 


कांग्रेसले संंवैधानिक राजतन्त्रको बाटो त्यागेर गणतन्त्रको लाइन पारित गरेपछि भट्टराईले सानो पीरले पार्टी परित्याग गरेका थिएनन् । यद्यपी उनी कांग्रेसका केही भेलामा जान्थे तर उनी भित्रभित्रै निकै दुःखी थिए । खासगरी गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको बाटोमा कांग्रेसलाई लगेपछि भट्टराई एक्ला भएका थिए । त्यतिबेला छिटपुट नेताहरुबाहेक भट्टराईलाई साथ दिने कोही भएन । 

 


आज कांग्रेस ख्वै भनेर मुख्य प्रतिष्पर्धी नेकपाले खिसिटिउरी गरिरहेको छ । कांग्रेस भने खिइदै खिइदै बीट मात्र बाँकी रहेको अवस्थामा छ । पार्टीमा नेतृत्व असफल भयो भन्दै आलाप गरिरहेका दोस्रो तेस्रो पङ्तीका नेताहरुले पनि भट्टराईलाई बिर्सिसकेछन् । युवा भन्ने नेताहरुको चरित्र पनि राम्रैसंग उदाङ्गो भयो । 

 


पार्टीले बीपीको मार्ग नै बिर्सेको भन्दै एकथरी नेताहरु असन्तुष्ट छन् । केबी गुरुङ, बिनयध्वज चन्द, लक्ष्मण घिमिरे, गोविन्दराज जोशी, लोकेश ढकाल लगायतका नेताहरुले बीपी  बिचारको अभियान नै चलाएका छन् । कांग्रेस समाप्त हुने दिशामा गैरहेको उनीहरुको ठहर छ । 

 


कांग्रेसले बीपी, भट्टराई, सिंहलाई बिर्सेको मात्र होइन पार्टीको मार्गदर्शक सिद्धान्तपनि पहिल्याउन सकेको छैन । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका बिषयमा ठोस निर्णय गर्न नसक्दा उसमाथि कम्युनिष्टका एजेण्डामा लतारिएको आरोप लाग्दै आएको छ । यो बिषयमा पार्टीभित्र ठूलो विवाद हुँदाहुँदैपनि महासमिति बैठकबाट पनि कुनै निर्णय हुन नसक्नु लाजमर्दो कुरा हो । 

 


अझ महासमिति बैठकले दिएका सुझावलाई समेत बेवास्ता गरी नेता अनुकुल बिधान परिमार्जन गरेपछि त कांग्रेसमा विवाद झन चर्किने स्पष्ट छ । 

 


पार्टीले भट्टराई जस्ता नेतालाई बिर्सेकामा काँग्रेसभित्र रहेका अनुयायी चिन्तित भएका छन् । ‘जसले आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेको छ, उसलाई बिर्सने काम भयो’, काँग्रेस नेता रामहरि खतिवडाले भने, ‘यसबाट हामीलाई दुःख लागेको छ ।’

 


भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीको कान्छा छोराका रुपमा विक्रम सम्वत १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो ।

 


०३३ सालमा बीपी कोइरालाबाट कार्यबाहक सभापतिको जिम्मेवारी पाएका उनले ०५३ सालसम्म अनरवत रुपमा पार्टी सभापति सम्हालेका थिए ।

नेपाली काँग्रेस सन्तनेता कृष्णप्रसाद भट्टराई

विशेष