भरतमोहन अरु नेताको तल रहेर मन्त्री हुने लेभलका थिएनन् (भिडियोसहित)
काठमाडौं । नेपालआजको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’मा फेरि पनि प्रा.डा. सुरेन्द्र केसीले आफ्ना विचार राख्नु भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनले भएको क्षतिका सम्बन्धमा डा. केसीले दुःख प्रकट गर्नुभएको छ । डा. केसीले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरु सबैको जीवनको मूल्य बराबर रहेको बताउनु भएको छ । उहाँको धारणा निम्नानुसार छन्ः
‘राष्ट्रिय जीवनमा मृत्युको फरक फरक महत्व होला, तर पारिवारिक जीवनमा महत्व बराबर हुन्छ ।
हेलिकोप्टरमा सात जनाको ज्यान गयो । पत्रपत्रिकाले राष्ट्रिय संकट झै गरी छापे । लगत्तै दार्चुलामा जीप दुर्घटना भएर ११ जनाको ज्यान गयो । कुनै महत्व नै पाएन । के जीवनको मूल्य यसरी फरक पारिनु हुन्छ त ?
राजनीतिक रुपले हेर्दा भरतमोहन अधिकारी अरु नेता तल रहेर मन्त्री हुने लेभलका थिएनन् । यहाँ त मन्त्री भइसकेका मान्छे तीन तह मुनीको राजदूत पद लिएर गएका छन् । आज मुख्य सचिव भएर भोलि सहसचिव सरहको पदमा दौडिने प्रवृत्ति छ ।
अहिले उद्योगमन्त्री मधेसकै छन् । तर तराईका किसानले नै २६ वर्षदेखि उखुको मूल्य नपाएकार खेती नै फेर्ने अवस्थामा पुगेका छन् । किसानहरु ऋणमा डुबेका छन् । अब भन्नुस मातृका यादव कसरी किसानका नेता भए ?
एक केजी बन्दाकोभी किसानले उत्पादन गर्दा १२ रुपैया लागत लाग्दो रहेछ । बेच्नु पर्ने २ रुपैयाँमा । अनि कालीमाटीमा आउँदा ३५ रुपैयाँ हुने अवस्था छ । अनि कसरी किसानको हित हुन्छ ?
मान्छेको मूल्यांकन कामका आधारमा हुनुपर्छ । कसैलाई मन परेका आधारमा देवत्वकरण गरिनु हुँदैन । रविन्द्र अधिकारीहरु कै पाथीभरा यात्रा ‘एउटा पिकनिक जस्तो’ भनेर पत्रकार किशोर नेपालले टिप्पणी गरेका छन् ।
बढाईचढाई कुनै कुराको पनि गर्नु हुँदैन । रविन्द्र अधिकारीका बारेमा जति प्रशंसा आए, त्यति चाहिँ होइन है भन्ने आशय नेपालको देखिन्छ ।
वाइडबडीमा रविन्द्र अधिकारी निर्दोष थिए भन्ने कुरा प्रधानमन्त्रीले भन्नुभयो । अब प्रधानमन्त्रीले नै भनिदिनु पर्यो कि त्यसमा दोषी को को थिए त ?
नेपालमा अख्तियार नै भ्रष्टाचारको हब बनेको रहेछ । राजनारायण पाठकको बारेमा प्रधानमन्त्रीलाई नै चार महिनादेखि थाहा रहेछ । तर उहाँले बोल्नु भएन । किन यस्तो भयो होला ? आश्चर्य धेरै छ ।