टीकापुर घटनाका अभियुक्तमाथि जन्मकैदको फैसलाले जनता उत्साहीत, उच्छृङ्कल नबन्न महतोलाई कांग्रेस नेता केसीको चेतावनी

कैलालीको टीकापुर घटनाका मुख्य अभियु्क्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसलापछि कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले सन्तोष व्यक्त गरेका छन् ।
नेपाल आजसंग कुराकारी गर्दै नेता केसीले भने, ‘ बिभत्स सो घटनाका मुख्य अभियुक्त चौधरीसहित ११ जनामाथि जो फैसला भयो, यसले पीडितलाई थोरै भएपनि राहत महसुस गराएको छ । यसले न्याय बाँचेको सन्देश पनि प्रवाह गरेको छ । ’
नेता केसीले अदालतको फैसलाबिरुद्ध आन्दोलन गर्ने, बिद्रोह गर्ने किसिमका धम्की नदिन राजपालाई सुझावसमेत दिए । उनले भने, ‘ लोकतन्त्रमा अदालतको सम्मान गर्नुस । शक्तिको आडमा अदालतलाई प्रभाव पार्न खोज्नु गलत हो । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनामा जातभातका कुरा उठाएर गिजोल्न खोज्ने ? ’
राजपा नेता राजेन्द्र महतोले हलुकारुपमा जथाभावी बोल्दै अनावश्यक टिप्पणी गरेको भन्दै उनले उच्छृङ्खल नबन्न महतोलाई सुझावसमेत दिए । उनले राजपाका अन्य नेताहरु भद्र र संयम देखिएपनि महतो भने केटाकेटी शैलीमा प्रस्तुत भैरहेकोमा आपत्तिसमेत जनाए । उनले राजनेता बन्ने हिसाबले अघि बढ्न महतोलाई आग्रहसमेत गरे ।
चौधरीको बिषयलाई लिएर राजपा वा अरु कसैले आन्दोलन गरे त्यो प्रत्युपादक हुने चेतावनीसमेत उनले दिए ।
जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।