देश राजनीति

‘कम्युनिस्टका नाममा चक्कु देखाएर चन्दा उठाउनेलाई कारबाही हुन्छ’

‘कम्युनिस्टका नाममा चक्कु देखाएर चन्दा उठाउनेलाई कारबाही हुन्छ’

झापा । प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीको नाममा चक्कु देखाएर चन्दा उठाउने पार्टीलाई सरकारले नियन्त्रणमा लिने चेतावनी दिएका छन् । उनले त्यो अवस्था आए कम्युनिस्ट सरकारले कम्युनिस्ट पार्टीलाई दमन गर्‍यो भन्ने भ्रममा पनि नपर्न आग्रह गरे । झापा विद्रोहको ४६ औं सहिद स्मृति दिवसका अवसरमा मंगलबार झापा र इलामको सीमावर्ती सुखानीमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

 


उनले कम्युनिस्ट पार्टीको नाममा मुलुकमा अराजकता निम्त्याउन कसैलाई छुट नभएको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले सहिदको सपनाअनुसार आफूहरूले तत्कालीन एमाले र माओवादी केन्द्रलाई एकीकृत गरी कम्युनिस्ट आन्दोलन सफल बनाइसकेको दाबी गरे । कम्युनिस्ट आन्दोलनका सहिदको सपनाअनुसार नै मुलुकबाट पञ्चायत, राजतन्त्र र निरंकुशता अन्त्य गर्दै कम्युनिस्ट पार्टीको बहुमतको सरकार निर्माण गरेको बताए ।

 

 

ओलीले अझै पनि कम्युनिस्टको नाममा कुनै पार्टी वा समूह बाहिर भए नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकीकृत हुन आउन आहवान गरे । नेकपामा आफू र पुष्पकमल दाहालमाथि कुनै शंका नगर्न पनि उनले आग्रह गरे । मुलुकमा परिवर्तन र कम्युनिस्ट पार्टीका लागि विभिन्न समयमा सहादत प्राप्त गरेका सबै सहिदलाई समान दृष्टिले हेर्ने उल्लेख गर्दै ओलीले कुनै आन्दोलनका सहिदलाई काखा र कुनैलाई पाखा नगर्ने वचन दिए । प्रधानमन्त्री ओलीले केही पार्टी र समूह लागेर सरकारले काम गरेन भन्ने कुप्रचारमा लागेको आरोप लगाए । 

प्रधानमन्त्री केपी ओली कम्युनिस्ट पार्टी

विशेष