भिडियो

कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको तयारी, तनावमा देउवा (भिडियोसहित)

कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको तयारी, तनावमा देउवा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसमा अहिले महासमिति बैठकको सुझावलाई केन्द्रीय समिति बैठकले उल्ट्याएको विषयलाई लिएर रडाको मच्चिएको छ । संस्थापन पक्षले महासमितिको कुनै निर्णय नउल्ट्याएको दाबी गरिरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले सभापति शेरबहादुर देउवाले बहुमतको दम्भ देखाएर महासमितिको अपमान गरेको तर्क गरिरहेका छन् । 


महाधिशेनका लागि केन्द्रीय सदस्य तथा पदाधिकारीहरु स्थानीय तहबाटै चुनिएर आउनुपर्ने  र एकजनाले एकपटक मात्रै आरक्षणको सुविधा पाउने विषयमा महासमितिले निर्णय गरेको पौडेल पक्षधर नेताहरुको तर्क छ । संस्थापन पक्षले भने महासमितिमा त्यस सम्बन्धी कुनैपनि निर्णय नभएकाले केन्द्रीय समितिले आफनो विवेक प्रयोग गरेर बिधानमा व्यवहारिक व्यवस्था गरेको बताइरहेका छन् । 


यहीबेला बिभिन्न ५६ जिल्लाका सभापतिहरुले महासमितिको नै अपमान गरेको भन्दै केन्द्रीय समितिको निर्णयविरुद्ध विज्ञप्ती जारी गरेका छन् । सबै सभापतिहरुको समन्वय गरिरहेका कांग्रेस नेता एवं नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले आउँदो केन्द्रीय समिति बैठकले यस सम्बन्धी निर्णय नसच्याए विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने चेतावनी दिए । 


महासमिति बैठकअघि नै जिल्ला सभापतिहरुको ककनी भेलाले कांग्रेसको रोडम्याप तय गरेको र सोही बमोजिम महासमिति बैठकले पनि निर्णय गरेकाले कांग्रेस केन्द्रीय समिति त्यसै बमोजिम अघि बढ्नुको विकल्प नभएको उनले बताए । 


महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बिधान सम्बन्धी सभापतिहरुको प्रस्ताव पारित भएको घोषणा गरेपनि अहिले सभापति देउवाले बहुमतको दम्भ देखाउँदै त्यसलाई लत्याउन खोजेको केसीको आरोप छ । 


केसीले भने, ‘सभापति देउवा नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा लापरवाह, अव्यवस्थित र अयोग्य सावित भए । उनले सबै पक्षलाई मिलाएर लैजानुपर्नेमा काखा र पाखाको व्यवहार गर्दा कांग्रेस नै धराशायी हुने स्थितिमा पुग्यो । ’


अहिलेको सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चेर अघि बढिरहेकाले त्यसबिरुद्ध शक्ति केन्द्रीत गर्नुपर्नेमा आफैभित्र संघर्षमा रुमल्लिरहनु उचित नभएको केसीको भनाइ छ । उनी भन्छन, ‘सभापति देउवा कि सच्चिनुपर्छ कि हट्नुपर्छ ।’ 

जगदिश्वरनरसिंह केसी नेपाली काँग्रेस

विशेष