राजनीति

मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन्छौँ : मुख्यमन्त्री राउत

मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन्छौँ : मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुक ढिला सुस्तीका कारण अगाडी बढ्न नसकेको बताएका छन्।

 

राजपा र फोरमद्वारा संयुक्त रुपमा सप्तरीको राजविराज नगरपालिका–९ मलेठ घटनामा ज्यान गुमाएका पाँच जना शहीदको दोस्रो पुण्य तिथिको अवसरमा बिहीबार आयोजना गरिएको श्रद्घाञ्जलिसभालाई सम्बोधन गर्दै उनले संघीय सरकारले प्रदेशलाई अधिकार दिएपछि आफू कमजोर हुने डरले प्रदेश सरकारलाई पूरा अधिकार नदिएको आरोप लगाएका हुन्।

 

उनले सरकारी स्तरबाट गठित आयोगको टोली र राष्ट्रिय मानव अधिकारको टोलीले मलेठ घटनाको भ्रामक र झूठो प्रतिवेदन तयार पारेको जिकिर गरे। प्रदेश सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन केही दिनमै सार्वजनिक हुने र दोषीलाई कारवाही गरेरै छाड्ने उनले प्रतिबद्घता व्यक्त गरे। मुख्यमन्त्री राउतले मन्त्री परिषद्को पहिलो बैठकले नै मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको बताए।

 

'प्रदेशमा उपलब्ध स्वास्थ्य, शिक्षालगायत सेवा उपलब्ध गराउने तयारीमा छौँ', उनले भने। उनले मधेसी निजामति कर्मचारी पाँचथरद्वारा उपलब्ध गराइएको रकम पाँच/पाँच हजारका दरले मलेठ घटनामा शहीद भएका पाँचैजनाका परिवारलाई प्रदान गरे।

मुख्यमन्त्री लालबाबु राउत शहीद परिवार

विशेष